सार्थक ब्यूरो । राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा पदक हासिल गरेका गोदावरी नगरपालिका क्षेत्रका खेलाडी तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारीलाई अत्तरियामा सम्मान गरिएको छ ।
पीएफए स्पोट्र्स क्लब अत्तरियाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा राष्ट्रपति रनिङ सिल्डबाट छनोट भई राष्ट्रियस्तरमा पदक जितेका खेलाडीलाई सम्मान गरिएको हो । कार्यक्रममा सैनिक आवासीय महाविद्यालयको विशेष सहकार्य रहेको थियो ।
सम्मान कार्यक्रममा तेक्वान्दो, कराते डोजाङ, विभिन्न खेलकुद क्लब तथा खेलकर्मीहरूको सहभागिता थियो । क्लबका वरिष्ठ सल्लाहकार एवं शिक्षाविद् डा. डम्बरबहादुर पालले सहभागीलाई स्वागत गरेका थिए ।
कार्यक्रममा १०० मिटर दौडतर्फका सुरेश चौधरी, तेक्वान्दो खेलाडी अमन चौधरी, उसुका चेत जोरा र नवीन सार्की तथा महिला फुटबल खेलाडी मिना देउवालाई सम्मान गरिएको थियो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकेन्द्रबहादुर खड्काले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय तह, खेलकुद संघसंस्था र अन्य सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए ।
उनले सुदूरपश्चिममा खेलकुदका लागि पर्याप्त बजेट र स्रोतसाधन उपलब्ध हुन नसकेको बताए । सीमित सुविधाका बीच पनि खेलाडीहरूले व्यक्तिगत प्रयास र खर्चमा प्रशिक्षण तथा प्रतियोगितामा सहभागी हुँदै प्रदेशको पहिचान राष्ट्रियस्तरमा स्थापित गरिरहेको उनको भनाइ थियो ।
खड्काले स्थानीय तहले खेलकुदलाई प्राथमिकतामा राखेर पर्याप्त बजेट छुट्याउनुपर्ने बताए । शिक्षा र स्वास्थ्यजस्तै खेलकुदमा हुने लगानीले पनि समाज र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने उनले उल्लेख गरे ।
गोदावरी नगरपालिका मात्रै नभई सिंगो सुदूरपश्चिमको खेलकुद विकासका लागि परिषद्ले आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले नगरपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले आगामी दिनमा नगरस्तरीय हुँदै जिल्ला तहसम्म रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
नगर प्रमुख भट्टका अनुसार खेलाडीको प्रतिभा पहिचान, क्षमता विकास र प्रोत्साहनका लागि आवश्यक पूर्वाधार निर्माणमा नगरपालिकाले पहल गर्नेछ । उनले गोदावरीमा व्यवस्थित खेलमैदान तथा रंगशालाको आवश्यकता रहेको भन्दै त्यसका लागि प्रदेश खेलकुद परिषद्सँग समन्वय र आवश्यक पहल गरिदिन सदस्य–सचिव खड्कासँग आग्रह गरे ।
खेलाडी सम्मान कार्यक्रमले गोदावरीबाट राष्ट्रियस्तरमा पदक जित्न सफल खेलाडीको योगदानलाई प्रोत्साहन गर्नुका साथै स्थानीयस्तरमा खेलकुद पूर्वाधार विस्तार र लगानी बढाउनुपर्ने आवश्यकतालाई पनि जोड दिएको छ ।








Discussion about this post