सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ १ गतेदेखि सुरु हुने भएको छ। दर्शनार्थीको बढ्दो चापलाई व्यवस्थापन गर्न मुख्य पूजाको दिनभन्दा अघि नै मेला सुरु गर्ने निर्णय गरिएको हो।
जिल्लामा आयोजित सर्वपक्षीय बैठकले मुख्य पूजाको दिन एकैपटक अत्यधिक भीड हुने भएकाले भदौ १ गतेदेखि नै पूजा तथा मेला सञ्चालन गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले जानकारी दिनुभयो।
बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीमा मन्दिरमा मुख्य पूजा हुँदै आएको छ। यस वर्ष भदौ १२ गते जनैपूर्णिमा परेकाले त्यसको अघिल्लो दिन बडीमालिकामा मुख्य पूजा हुनेछ।
गत वर्ष बडीमालिका मन्दिरमा ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए। देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत प्रत्येक वर्ष ठूलो सङ्ख्यामा दर्शनार्थी बडीमालिका पुग्ने गरेका छन्। बाजुरा, डोटी र जुम्लाबाट पूजाका सामग्रीसहित सरकारी टोलीसमेत बडीमालिका पुग्ने परम्परा छ।
यस वर्ष दर्शनार्थीको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ। गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि मन्दिरको आकर्षण थप बढेको स्थानीयको भनाइ छ। नयाँ संरचनाका कारण पनि यस वर्ष भक्तजनको सङ्ख्या बढ्ने स्थानीय चन्द्र थापाले बताउनुभयो।
बडीमालिका नगरपालिका प्रमुख अमरबहादुर खड्काका अनुसार मेला तथा पूजा व्यवस्थापनका लागि जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले तयारी तीव्र पारेका छन्। मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णयसमेत गरिएको उहाँले जानकारी दिनुभयो।
मन्दिर जाने मार्गमा सङ्केत चिह्न, साइनबोर्ड तथा सूचनापाटी राखिनेछन्। धार्मिक क्षेत्रको पवित्रता कायम राख्न मेला अवधिभर मदिरा, लागुऔषध तथा मासुजन्य वस्तु लैजान र प्रयोग गर्न निषेध गरिने निर्णय गरिएको छ।
निमित्त जिल्ला समन्वय अधिकारी दिपेन्द्र पाण्डेका अनुसार बडीमालिका जाने क्रममा लेक लाग्ने, बिरामी पर्ने वा अन्य कारणले आपत्कालीन उद्धार आवश्यक पर्ने दर्शनार्थीका लागि तत्काल उद्धारको व्यवस्था मिलाइएको छ। जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय गरी उद्धार तथा व्यवस्थापनको काम गरिनेछ।
समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका क्षेत्र धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गमका रूपमा परिचित छ। दर्शनार्थीको स्वास्थ्य सुरक्षाका लागि स्थानीय तहले जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मी परिचालन तथा अन्य व्यवस्थापनमा नेपाली सेनाले नेतृत्व गर्ने तयारी गरिएको छ।
यस वर्ष मेलाअघि नै सञ्चार सम्पर्क सहज बनाउन टेलिकम टावर सञ्चालनमा ल्याउने तयारीसमेत भइरहेको छ। उच्च हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुँदा आवश्यक सामग्री ढुवानीमा भने केही समस्या भइरहेको स्थानीय प्रशासनले जनाएको छ।








Discussion about this post