सार्थक डेस्क। नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकारदेखि शिक्षा, स्वास्थ्य, रोजगारी, समानता, न्याय, सामाजिक सुरक्षा र स्वतन्त्रतासम्मका मौलिक हकको प्रत्याभूति गरेको छ। संविधानको भाग–३ मा नागरिकका मौलिक अधिकार स्पष्ट रूपमा लिपिबद्ध छन्। तर विडम्बना, संविधानका पानामा सुनिश्चित गरिएका ती अधिकार नागरिकले व्यवहारमा कति उपभोग गर्न पाएका छन् भन्ने प्रश्न आज पनि उत्तिकै गम्भीर छ। नागरिकलाई अधिकार सम्पन्न बनाउने जिम्मेवारी बोकेको राज्य संयन्त्रबाटै नागरिकले सास्ती, विभेद, ढिलासुस्ती र अनावश्यक झन्झट भोग्नुपर्ने अवस्था कायम रहनु लोकतान्त्रिक शासन व्यवस्थाका लागि सुखद संकेत होइन।
नागरिकले राज्यसँग ठूलो अपेक्षा राखेका हुँदैनन्। आफूले पाउनुपर्ने सेवा सहज, सरल, निष्पक्ष र समयमै प्राप्त होस् भन्ने चाहना मात्र हुन्छ। तर सरकारी कार्यालयमा सामान्य काम गराउनसमेत अनेकौँ प्रक्रिया, अनावश्यक कागजी झन्झट, पहुँच र प्रभावको खोजी तथा अतिरिक्त पारितोषिक वा नजराना दिनुपर्ने बाध्यता रहेको जनगुनासो अझै अन्त्य हुन सकेको छैन। कतिपय सेवाग्राहीले आफ्नो वैधानिक काम सम्पन्न गराउन आर्थिक लेनदेनको दबाब वा संकेत सामना गर्नुपरेको गुनासो गर्छन्। यदि नागरिकले आफ्नो अधिकार प्रयोग गर्न पनि अतिरिक्त रकम खर्च गर्नुपर्ने अवस्था छ भने संविधानले प्रत्याभूत गरेको सुशासन र समानताको अर्थ के रहन्छ ?
राज्यका कर्मचारी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू नागरिकका सेवक हुन्, शासक होइनन्। सरकारी कार्यालय नागरिकलाई सेवा र सुविधा उपलब्ध गराउने सार्वजनिक संस्था हुन्, नागरिकलाई दुःख दिने अखडा होइनन्। तर व्यवहारमा कतिपय स्थानमा सेवाग्राहीलाई सम्मानपूर्वक व्यवहार गर्नुको सट्टा विभिन्न बहानामा अल्झाउने, काममा ढिलाइ गर्ने, अनावश्यक कागजात माग्ने र पहुँचवालाको कामलाई प्राथमिकता दिने प्रवृत्तिबारे जनगुनासो सुनिन्छ। यस्तो अवस्था कायम रहनु भनेको नागरिकको अधिकारलाई व्यवहारमै कमजोर बनाउनु हो। सार्वजनिक सेवामा पारदर्शिता, जवाफदेहिता र निष्पक्षता स्थापित नभएसम्म संविधानमा लेखिएका अधिकारको वास्तविक अनुभूति नागरिकले गर्न सक्दैनन्।
यही अवस्थाको अर्को गम्भीर उदाहरण सुदूरपश्चिम प्रदेशमा मानव अधिकार संरक्षणका लागि आवश्यक संस्थागत संरचनाको कमजोर अवस्था हो। प्रदेशका ८८ स्थानीय तहमध्ये हालसम्म १६ वटा स्थानीय तहमा मात्रै मानव अधिकार समन्वय समिति गठन भएको तथ्याङ्क सार्वजनिक भएको छ। अर्थात् ७२ वटा स्थानीय तहमा अझै यस्तो समिति गठन हुन सकेको छैन। मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि प्रत्येक स्थानीय तहमा समन्वय समिति गठन गर्नुपर्ने व्यवस्था हुँदाहुँदै पनि अधिकांश स्थानीय सरकारको उदासीनता देखिनु चिन्ताजनक विषय हो।
नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह हो। नागरिकले दैनिक रूपमा भोग्ने समस्या, विभेद, हिंसा, अन्याय र अधिकार हननका घटनाको पहिचान तथा समाधानमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ। तर मानव अधिकार संरक्षणका लागि आवश्यक समन्वय समिति नै गठन गर्न नसक्ने स्थानीय सरकारबाट नागरिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन कसरी अपेक्षा गर्ने ? मानव अधिकार संरक्षणलाई औपचारिकता वा अतिरिक्त जिम्मेवारीका रूपमा होइन, स्थानीय शासनको अनिवार्य दायित्वका रूपमा बुझ्न आवश्यक छ।
सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था केवल संस्थागत संरचनाको अभावमा मात्र सीमित छैन। महिला हिंसा, घरेलु हिंसा, बलात्कार, बालविवाह, बालश्रम, जातीय विभेद, छाउपडी प्रथा तथा सामाजिक बहिष्करणजस्ता समस्या अझै चुनौतीका रूपमा रहेका छन्। गरिबी, अशिक्षा, सामाजिक कुरीति र न्यायमा कमजोर पहुँचका कारण विशेषगरी महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायले आफ्ना अधिकारको पूर्ण उपभोग गर्न सकेका छैनन्।
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले समेत सुदूरपश्चिममा छाउपडी प्रथाका अवशेष, बालविवाह, घरेलु हिंसा, जातीय विभेद, बालश्रम र जन्मदर्ताको अभावलाई मानव अधिकारका प्रमुख चुनौतीका रूपमा औँल्याएको छ। प्रदेशभर एउटा मात्रै बाल सुधारगृह हुँदा क्षमताभन्दा बढी बालक राख्नुपर्ने अवस्था र न्यायिक प्रक्रियामा हुने ढिलाइले पीडित तथा प्रभावित बालबालिकाको संरक्षणमा समेत प्रश्न उठाएको छ। यी समस्या कुनै एउटा समुदाय वा परिवारका निजी समस्या मात्र होइनन्, राज्यको सामाजिक न्याय र मानव अधिकार संरक्षणसम्बन्धी प्रतिबद्धताको परीक्षण पनि हुन्।
संविधानले महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको अधिकार संरक्षणका लागि स्पष्ट व्यवस्था गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तीकरण ऐन, २०७८ (पहिलो संशोधन, २०८२), प्रदेश बालबालिकासम्बन्धी ऐन, २०७७ लगायतका कानुनी तथा नीतिगत व्यवस्था गरेको छ। विपन्न र सीमान्तकृत समुदायका लागि जनता सुरक्षित आवास कार्यक्रमसमेत सञ्चालनमा छ। तर कानुन र कार्यक्रम निर्माण गर्नु मात्रै उपलब्धि होइन। त्यसको प्रभावकारी कार्यान्वयनबाट नागरिकको जीवनमा सकारात्मक परिवर्तन आउनु वास्तविक उपलब्धि हो।
हामीले गम्भीरतापूर्वक आत्मसमीक्षा गर्नुपर्ने विषय के हो भने राज्यले नागरिकलाई अधिकार दिएको छ कि अधिकार प्रयोग गर्न आवश्यक वातावरण पनि निर्माण गरेको छ ? संविधानमा मौलिक हक लेखिनु र नागरिकले ती हक व्यवहारमा प्राप्त गर्नु फरक कुरा हुन्। सरकारी कार्यालयमा सामान्य सेवा लिन नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, न्याय खोज्दा वर्षौं कुर्नुपर्ने, हिंसापीडितले संरक्षण नपाउने र सामाजिक विभेदमा परेका व्यक्तिले समान व्यवहार नपाउने अवस्था रहिरह्यो भने संवैधानिक अधिकारको सार्थकता कमजोर हुन्छ।
राज्य संयन्त्रभित्र मौलाएको ढिलासुस्ती, गैरजवाफदेहिता, अनियमितता र भ्रष्टाचार नियन्त्रण नगरी सुशासनको कल्पना गर्न सकिँदैन। सार्वजनिक सेवामा अतिरिक्त रकम वा अनुचित लाभको अपेक्षा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कठोर अनुगमन र प्रभावकारी कारबाही आवश्यक छ। प्रत्येक सरकारी कार्यालयमा सेवा प्रवाहको स्पष्ट मापदण्ड, लाग्ने समय, आवश्यक कागजात र कुनै शुल्क लाग्ने भए त्यसको विवरण सार्वजनिक गरिनुपर्छ। नागरिकले सेवा नपाए वा अनुचित रकम मागिए कहाँ र कसरी उजुरी गर्ने भन्ने व्यवस्था सहज र प्रभावकारी हुनुपर्छ। भ्रष्टाचारविरुद्ध बोल्ने नागरिकलाई निरुत्साहित गर्ने होइन, उनीहरूको गुनासोलाई निष्पक्ष रूपमा सम्बोधन गर्ने वातावरण बनाउनुपर्छ।
यसका साथै स्थानीय तहमा मानव अधिकार समन्वय समिति गठनलाई तत्काल प्राथमिकता दिनुपर्छ। गठन भएका समितिलाई सक्रिय बनाउँदै मानव अधिकार उल्लङ्घनका घटनाको अनुगमन, पीडितको संरक्षण, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्छ। प्रदेश सरकार, स्थानीय सरकार, राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज र सञ्चारमाध्यमबीच प्रभावकारी समन्वय कायम हुन सके मानव अधिकार संरक्षणको अभियानलाई व्यवहारमा उतार्न सहज हुनेछ।
नागरिक पनि आफ्नो अधिकारप्रति सचेत हुन आवश्यक छ। अधिकार माग्नु, अन्यायविरुद्ध आवाज उठाउनु र सार्वजनिक निकायलाई जवाफदेही बनाउनु नागरिकको लोकतान्त्रिक अधिकार हो। तर अधिकारसँगै कर्तव्यको पालना, कानुनको सम्मान र सार्वजनिक सम्पत्तिको संरक्षण पनि उत्तिकै महत्वपूर्ण छन्। सचेत, जिम्मेवार र प्रश्न गर्न सक्ने नागरिक समाजबिना लोकतन्त्र बलियो हुन सक्दैन।
अन्ततः लोकतन्त्रको सफलता संविधानमा कति अधिकार लेखिएका छन् भन्ने कुराले मात्र मापन हुँदैन, ती अधिकार आम नागरिकले कति सहज रूपमा प्राप्त गरेका छन् भन्ने कुराले मापन हुन्छ। राज्य संयन्त्र नागरिकको अधिकार कुण्ठित गर्ने माध्यम होइन, अधिकार सुनिश्चित गर्ने भरोसायोग्य संरचना बन्नुपर्छ। सरकारी कार्यालयमा नागरिकले सम्मान पाउनुपर्छ, सेवाका लागि नजराना होइन, कानुनअनुसारको प्रक्रिया पूरा गर्नुपर्छ। गरिब र पहुँचविहीन नागरिकले पनि पहुँचवालासरह न्याय र सेवा पाउनुपर्छ।
संविधान नागरिकको अधिकारको दस्ताबेज हो, राज्य संयन्त्रको सुविधाको साधन होइन। मौलिक हक कागजमा सीमित राखेर व्यवहारमा नागरिकलाई सास्ती दिने प्रवृत्तिको अन्त्य नगरेसम्म सुशासन र सामाजिक न्यायका नारा अर्थहीन हुनेछन्। अब राज्यले नागरिकलाई अधिकार माग्न बाध्य बनाउने होइन, अधिकार सुनिश्चित भएको अनुभूति गराउनुपर्छ। नागरिक सरकारको सेवाग्राही मात्र होइन, राज्यको सर्वोच्च सार्वभौम शक्ति हो भन्ने संवैधानिक मान्यतालाई व्यवहारमा स्थापित गर्नु नै लोकतन्त्रको वास्तविक उपलब्धि र समृद्ध नेपालको आधार हो।







Discussion about this post