सार्थक डेस्क। महाकाली नदी सुदूरपश्चिमको सभ्यता, इतिहास, संस्कृति, अर्थतन्त्र र जनजीवनसँग जोडिएको महत्वपूर्ण प्राकृतिक सम्पदा हो। दार्चुलादेखि कञ्चनपुरको कुतियाकभरसम्म आइपुग्दा यस नदीले हजारौँ परिवारको जीवन, खेतीयोग्य जमिन, बस्ती र जीविकोपार्जनलाई प्रत्यक्ष रूपमा प्रभावित गरेको छ। तर, यही महाकाली नदी वर्षायाममा कतिपय नागरिकका लागि विनाश, विस्थापन र असुरक्षाको पर्याय बन्ने गरेको छ। नदीको कटान र डुबानबाट वर्षौंदेखि प्रभावित नागरिकको समस्या समाधान हुन नसक्नु राज्यको विकास प्राथमिकता र जवाफदेहितामाथि गम्भीर प्रश्न हो।
दार्चुलाको महाकाली नगरपालिका क्षेत्रका बासिन्दाले नदी कटान रोक्न नेपालतर्फ पक्की तटबन्ध निर्माण गर्न गरेको माग यसै समस्याको पछिल्लो उदाहरण हो। नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीको दुवैतर्फ सुरक्षा संरचना निर्माणमा समान ध्यान नदिइए नेपाली भूभागमा जोखिम बढ्न सक्ने स्थानीयको चिन्ता स्वाभाविक छ। भारततर्फ तटबन्ध निर्माण भइरहँदा नेपालतर्फका जोखिमयुक्त बस्ती र जमिनको सुरक्षालाई बेवास्ता गर्न मिल्दैन। यस विषयमा भावनात्मक बहसभन्दा पनि वैज्ञानिक अध्ययन, प्राविधिक मूल्याङ्कन र दुई देशबीचको प्रभावकारी समन्वय आवश्यक छ।
२०७० सालमा महाकाली नदीमा आएको विनाशकारी बाढीले दार्चुलामा पुर्याएको क्षति अझै पनि राज्यका लागि गम्भीर चेतावनी हो। उक्त बाढीमा ११० जनाको घर तथा जग्गा बगिएको थियो। कतिपय परिवारले ५० लाखदेखि एक करोड रुपैयाँसम्मको सम्पत्ति गुमाउनुपरेको थियो। विपत्तिपछि केही क्षेत्रमा तटबन्ध निर्माण भए पनि नदी कटानको जोखिम पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। अझ दुःखद पक्ष त के छ भने सर्वस्व गुमाएका परिवारले १३ वर्ष बितिसक्दा पनि उचित राहत र पुनर्स्थापनाको अनुभूति गर्न सकेका छैनन्। तत्कालीन सरकारले उपलब्ध गराएको प्रतिपरिवार ३५ हजार रुपैयाँले उनीहरूको वास्तविक क्षतिको पीडा र पुनर्स्थापनाको आवश्यकता सम्बोधन गर्न सकेन।
प्राकृतिक विपत्तिमा नागरिकको घरजग्गा बग्न सक्छ, तर राज्यको जिम्मेवारी र जवाफदेहिता बग्न मिल्दैन। विपत्ति आएपछि केही राहत वितरण गरेर दायित्व पूरा भएको ठान्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। नागरिकको ज्यान, जमिन र सम्पत्तिको सुरक्षा गर्नु राज्यको पहिलो दायित्व हो। त्यसैले महाकाली नदीको कटान नियन्त्रणलाई कुनै एउटा नगरपालिका, जिल्ला वा निर्वाचन क्षेत्रको सीमित समस्याका रूपमा होइन, दार्चुलादेखि कञ्चनपुरसम्मको साझा र दीर्घकालीन राष्ट्रिय सरोकारका रूपमा लिनुपर्छ।
विशेषगरी दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका महाकाली नदी प्रभावित क्षेत्रको अवस्था समग्र रूपमा अध्ययन गर्न आवश्यक छ। नदीको बहाव, भू–बनोट, कटानको प्रकृति, जोखिममा रहेका बस्ती, खेतीयोग्य जमिन, सडक तथा अन्य भौतिक संरचनाको पहिचान गरी एकीकृत गुरुयोजना तयार गर्नुपर्छ। कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र कुतियाकभरसम्म नदी कटान र डुबानको समस्या कहाँ, कति र कुन रूपमा छ भन्ने विषयलाई पनि योजनामा समेटिनुपर्छ। कुनै एउटा स्थानमा तटबन्ध निर्माण गरेर अर्को स्थानलाई जोखिममा छोड्ने होइन, नदीको समग्र बहाव र तटीय क्षेत्रको सुरक्षालाई ध्यानमा राखेर काम गर्नुपर्छ।
महाकाली नदी नियन्त्रणका लागि आवश्यक पर्ने तटबन्ध निर्माण गुणस्तरीय, वैज्ञानिक र दीर्घकालीन हुनुपर्छ। हरेक वर्ष बाढी आएपछि हतारमा गरिने अस्थायी काम र बजेट खर्च गर्ने परम्पराले समस्याको स्थायी समाधान दिन सक्दैन। नदीको प्रकृति र बहावअनुसार आधुनिक प्रविधि प्रयोग गरी पक्की तटबन्ध निर्माण, नदी किनार संरक्षण, जोखिमयुक्त बस्तीको व्यवस्थापन र प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ। नेपाल–भारत सीमा क्षेत्रमा नदी नियन्त्रणका काम गर्दा दुवै देशबीच प्राविधिक तथा कूटनीतिक समन्वय पनि उत्तिकै आवश्यक छ।
यस विषयमा संघीय सरकारको नेतृत्वदायी भूमिका अपरिहार्य छ। सिँचाइ, जलस्रोत, विपद् व्यवस्थापन र सीमासम्बन्धी निकायबीच प्रभावकारी समन्वय हुनुपर्छ। प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रको जोखिम पहिचान गरी आवश्यक बजेट, योजना र कार्यान्वयनमा सक्रियता देखाउनुपर्छ। प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा राजनीतिक दलका नेताहरूले पनि निर्वाचनका बेला गरिने आश्वासनभन्दा माथि उठेर जनताको जीवनसँग जोडिएको यस विषयलाई साझा राजनीतिक एजेन्डा बनाउनुपर्छ।
हामीले बुझ्नुपर्छ, महाकाली नदीको कटानले केवल केही मिटर जमिन मात्र बगाउँदैन, यसले किसानको पुस्तौँदेखिको परिश्रम, परिवारको आर्थिक आधार, नागरिकको बसोबास र भविष्यसमेत बगाउने खतरा राख्छ। सीमावर्ती क्षेत्रका नागरिकले आफ्नो भूमि जोगाउन संघर्ष गर्नुपर्ने अवस्था आउनु राज्यका लागि सुखद विषय होइन। सीमा क्षेत्रको सुरक्षा केवल प्रशासनिक उपस्थिति र सुरक्षाकर्मीको तैनाथीबाट मात्र सम्भव हुँदैन। त्यहाँका नागरिकको सुरक्षित बसोबास, आर्थिक समृद्धि र भौतिक पूर्वाधारको संरक्षण पनि राष्ट्रिय सुरक्षाकै महत्वपूर्ण आधार हुन्।
अर्कोतर्फ, महाकाली नदीलाई केवल नियन्त्रण गर्नुपर्ने विपत्तिको स्रोतका रूपमा मात्र हेर्नु पनि उचित हुँदैन। उचित नदी व्यवस्थापन हुन सके यही नदी सिँचाइ, कृषि उत्पादन, पर्यटन, ऊर्जा र आर्थिक विकासको आधार बन्न सक्छ। त्यसका लागि प्रकृतिसँग संघर्ष गर्ने होइन, वैज्ञानिक व्यवस्थापन र वातावरणीय सन्तुलन कायम गर्दै विकासका सम्भावना खोज्नुपर्छ।
अब महाकाली नदीको कटान समस्यामा आश्वासन होइन, परिणाम चाहिएको छ। दार्चुलादेखि कञ्चनपुरको कुतियाकभरसम्मका जोखिमयुक्त क्षेत्रको पहिचान गरी समयबद्ध कार्ययोजनासहित तटबन्ध निर्माण र नदी नियन्त्रणको काम अघि बढाउनुपर्छ। विगतका बाढीपीडितको उचित पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको संरक्षणलाई पनि प्राथमिकतामा राखिनुपर्छ। यसका लागि आवश्यक बजेट विनियोजन, पारदर्शी कार्यान्वयन र नियमित अनुगमन सुनिश्चित गर्नुपर्छ।
महाकाली नदीको कटान कुनै दल विशेषको समस्या होइन, यो समग्र सुदूरपश्चिमको साझा पीडा र सरोकार हो। यस विषयमा राजनीतिक आग्रह, पूर्वाग्रह र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबै जनप्रतिनिधि, सरकार, नागरिक समाज र स्थानीय समुदाय एकजुट हुन आवश्यक छ।
नदीको बहाव रोक्न नसकिएला, तर त्यसबाट हुने विनाश रोक्न सकिन्छ। नागरिकको घरबार बगेपछि राहत बाँड्नेभन्दा घरबार बग्नै नदिने व्यवस्था गर्नु नै सुशासन र जिम्मेवार राज्यको पहिचान हो। महाकाली नदीलाई विनाशको कारण होइन, समृद्धिको आधार बनाउने संकल्पका साथ दार्चुलादेखि कञ्चनपुरको कुतियाकभरसम्म एकीकृत नदी नियन्त्रण अभियान सञ्चालन गर्नु आजको अपरिहार्य आवश्यकता हो। नागरिकको भूमि जोगाउनु, बस्ती सुरक्षित राख्नु र सीमावर्ती जनताको भविष्य सुनिश्चित गर्नु राज्यको विकल्परहित दायित्व हो।







Discussion about this post