सार्थक ब्यूरो । दार्चुलाको दुर्गम क्षेत्रका रूपमा रहेको अपि हिमाल गाउँपालिका अब सडक सञ्जालमा जोडिएको छ। लामो समयदेखि सडक सुविधाबाट वञ्चित गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा पहिलोपटक सवारीसाधन पुगेका छन्।
गाउँपालिकाको केन्द्रसम्म सडकको अस्थायी ट्रयाक खोलिएसँगै जिप पुगेको हो। सडक विस्तारले स्थानीयवासीको वर्षौंदेखिको सडक पहुँचको प्रतीक्षा पूरा भएको छ।
गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार केन्द्रसम्म सडक पुगेपछि स्थानीयको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। यसबाट विकास निर्माणका कामलाई गति दिन, सरकारी सेवा प्रवाह प्रभावकारी बनाउन तथा स्थानीयको दैनिक जीवनयापनमा समेत सहजता थपिने उहाँले बताउनुभयो।
गाउँपालिकाको केन्द्रमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासी उत्साहित भएका छन्। सडक निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने निर्माण व्यवसायीलाई गाउँपालिका परिवारले सम्मानसमेत गरेको छ।
पहिलो चरणमा अस्थायी सडक मार्ग निर्माण गरी पालिकाको केन्द्रसम्म यातायात पहुँच विस्तार गरिएको हो। यससँगै दार्चुलाका नौवटै स्थानीय तहका केन्द्र सडक सञ्जालमार्फत जोडिएका छन्।








Discussion about this post