सार्थक ब्यूरो । उखुको उचित मूल्य नपाएको भन्दै कञ्चनपुरका उखु उत्पादक किसानले न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ७ सय रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्। किसानले आफ्नो माग सम्बोधन नभए चिनी उद्योगमा उखु बिक्री तथा आपूर्ति बन्द गर्ने चेतावनी दिएका छन्।
उखु हकहित संरक्षण समिति कञ्चनपुरको अगुवाइमा मंगलबार बेलौरीस्थित खुलामञ्चमा भएको किसान भेलाले मागअनुसार मूल्य निर्धारण नभए चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेको हो।
समितिका अध्यक्ष हरिचन्द ठकुरीले उखुको मूल्य निर्धारण गर्ने विषयमा सरकार र चिनी उद्योग सञ्चालक गम्भीर नदेखिएको आरोप लगाए। केन्द्रीय उखु किसान महासंघ, सरकार र उद्योगीबीच भएको छलफलबाट कुनै ठोस सहमति जुट्न नसकेपछि किसान आन्दोलनको तयारीमा लाग्न बाध्य भएको उनले बताए।
किसानहरूले सामान्य जातको उखुको मूल्य प्रतिक्विन्टल कम्तीमा ६५० रुपैयाँ र उन्नत अर्थात् अर्ली जातको उखुको मूल्य ७ सय रुपैयाँ निर्धारण गर्नुपर्ने माग अघि सारेका छन्। कृषि उत्पादनका लागि आवश्यक डिजेल, मल, बीउ, विषादी तथा श्रमिकको ज्याला निरन्तर बढिरहेको अवस्थामा पुरानै मूल्यमा उखु बिक्री गर्दा किसानलाई आर्थिक भार परेको उनीहरूको भनाइ छ।
समितिका अध्यक्ष ठकुरीका अनुसार सामान्य जातको उखुबाट एक क्विन्टलमा औसत ९ किलो चिनी उत्पादन हुन्छ भने उन्नत जातको उखुबाट ११ देखि १३ किलोसम्म चिनी निकाल्न सकिन्छ। उन्नत जातको उखुबाट उद्योगले तुलनात्मक रूपमा बढी उत्पादन र आम्दानी प्राप्त गर्ने भए पनि किसानलाई उचित प्रोत्साहन दिन उद्योगीहरू तयार नभएको उनको गुनासो छ।
उन्नत जातको उखु खेतीलाई प्रोत्साहन गर्न प्रतिक्विन्टल थप ५० रुपैयाँ उपलब्ध गराउनुपर्ने किसानको माग छ।
भेलाले माग पूरा नभएसम्म चिनी उद्योगले आयोजना गर्ने औपचारिक तथा अनौपचारिक कार्यक्रममा किसान र उनीहरूका प्रतिनिधि सहभागी नहुने निर्णयसमेत गरेको छ। साथै, उखुको मूल्यमा सहमति नभए उद्योगमा उखु बिक्री नगर्ने अडान किसानले दोहोर्याएका छन्।
यसैबीच, सरकारले आगामी बिहीबार वा शुक्रबारसम्म उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल करिब ६५० रुपैयाँ कायम गर्ने तयारी गरेको बताइएको छ। चिनी उद्योगहरू भने मंसिरको दोस्रो सातादेखि सञ्चालनमा ल्याउने तयारीमा रहेका छन्।







Discussion about this post