सार्थक डेस्क। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ। महिला तथा बालिकामाथि हुने हिंसा, विभेद र शोषण अन्त्य गर्ने उद्देश्यले सञ्चालन हुने यो अभियान चेतना अभिवृद्धि र अधिकार स्थापित गर्ने महत्वपूर्ण अवसर हो। यस वर्ष पनि ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नारासहित अभियान सुरु भएको छ। सदरमुकामदेखि स्थानीय तहसम्म विभिन्न कार्यक्रम भइरहेका छन्। सभा, गोष्ठी, र्याली, प्रतियोगिता र सामाजिक सञ्जालमा चेतनामूलक सन्देशको प्रवाह पनि बढेको छ। तर प्रश्न गम्भीर छ– के यी अभियानले दूरदराजका गाउँमा बस्ने महिलाको जीवनमा वास्तविक परिवर्तन ल्याउन सकेका छन्?
सुदूरपश्चिमका पहाडी बस्तीमा पुगेर महिलाको दैनिकी नियाल्ने हो भने अभियानका आकर्षक नाराभन्दा फरक र पीडादायी यथार्थ देखिन्छ। बिहानदेखि साँझसम्म घरधन्दा, बालबच्चाको हेरचाह, पशुपालन, घाँसदाउरा र खेतीपातीमा खटिनुपर्ने महिलाका लागि हिंसा केवल कुटपिट, बलात्कार वा मानसिक यातना मात्रै होइन। असमान श्रम विभाजन, आर्थिक परनिर्भरता, सामाजिक विभेद, असुरक्षित कार्यस्थल र आधारभूत सुरक्षाको अभाव पनि हिंसाकै फराकिला स्वरूप हुन्। अझ विडम्बना त के छ भने महिलाले परिवारको जीवन धान्न घाँस र खर काट्न जाँदा भिरबाट खसेर ज्यान गुमाउनुपर्ने अवस्था छ।
जिल्ला प्रहरी कार्यालय बैतडीको अभिलेखअनुसार पछिल्ला तीन आर्थिक वर्षमा बैतडीमा मात्रै घाँस तथा खर काट्ने क्रममा भिरबाट लडेर ५२ जना महिला तथा किशोरीको मृत्यु भएको तथ्य आफैँमा भयावह छ। यी मृत्यु सामान्य दुर्घटनाका रूपमा मात्र व्याख्या गरेर राज्य र समाजले आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन। महिलाको श्रम र जीवनलाई सुरक्षित बनाउने पूर्वाधार, वैकल्पिक जीविकोपार्जन, जोखिम न्यूनीकरणका कार्यक्रम र सामाजिक सुरक्षाको व्यवस्था नहुनु पनि गम्भीर प्रश्न हो। घाँस काट्न जाँदा ज्यान गुमाउने महिलाको परिवारले क्षतिपूर्ति र राहत पाउने सुनिश्चितता नहुनु अर्को विडम्बना हो। महिलाको श्रम अर्थतन्त्रमा गणना नहुने र उनीहरूको जोखिम राज्यको प्राथमिकतामा नपर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ।
त्यस्तै, छाउपडी प्रथा अझै पनि सुदूरपश्चिमका कतिपय समुदायमा सामाजिक कुरीतिका रूपमा कायम छ। महिनावारीलाई प्राकृतिक जैविक प्रक्रिया मान्नुको सट्टा अशुद्धता र निषेधसँग जोड्ने सोचले महिलालाई अपमान, असुरक्षा र स्वास्थ्य जोखिममा पारिरहेको छ। कानुनले दण्डनीय मानेको प्रथा व्यवहारमा अन्त्य हुन नसक्नु कानुनी व्यवस्थाभन्दा सामाजिक सोच परिवर्तनको चुनौती कति गहिरो छ भन्ने प्रमाण हो। कानुन बनाउनु आवश्यक छ, तर त्यसको प्रभावकारी कार्यान्वयन, स्थानीय समुदायको सहभागिता र निरन्तर सामाजिक जागरण अझ बढी आवश्यक छ।
लैङ्गिक हिंसाको पीडा सबै महिलाका लागि समान हुँदैन। दलित समुदायका महिला तथा बालिकाले लैङ्गिक विभेदसँगै जातीय छुवाछुत र सामाजिक बहिष्करणको दोहोरो मार खेप्नुपरेको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार हिंसा प्रभावितमध्ये करिब १८ प्रतिशत दलित समुदायका महिला तथा बालिका छन्। यसले हिंसाविरुद्धका कार्यक्रम समावेशी र सबै समुदायको वास्तविक अवस्थालाई सम्बोधन गर्ने खालका हुनुपर्ने आवश्यकता देखाउँछ। महिलामाथिको हिंसालाई केवल महिला र पुरुषबीचको असमानताका रूपमा मात्र बुझेर पुग्दैन; जातीय विभेद, वर्गीय असमानता, गरिबी र अवसरको अभावसँग जोडेर पनि विश्लेषण गर्नुपर्छ।
अर्कोतर्फ, महिला तथा बालिका हराउने घटनाले सुरक्षा र मानव बेचबिखनको जोखिमलाई थप गम्भीर बनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक वर्ष २०८३/८४ को कात्तिक महिनाको विवरणअनुसार एक महिनामै प्रदेशभर ७० जना महिला र ३७ जना बालिका हराएको उजुरी परेको छ। तीमध्ये ५१ महिला र ३३ बालिकालाई सुरक्षित उद्धार गरिएको छ भने १९ महिला र चार बालिका अझै बेपत्ता रहेको विवरण छ। यो तथ्याङ्कले महिला तथा बालिकाको सुरक्षा केवल घरभित्रको विषय नभई समाज, राज्य र सीमा सुरक्षासँग समेत जोडिएको देखाउँछ। रोजगारी, विवाह र उज्ज्वल भविष्यको प्रलोभन देखाएर हुने बेचबिखनका घटनाले गरिबी, बेरोजगारी र असुरक्षाको फाइदा उठाइरहेका छन्। माइती नेपालले पछिल्ला चार वर्षमा सीमानाकाबाट बेचबिखनको जोखिममा परेका ५५६ जना महिला तथा बालबालिकाको उद्धार गरेको तथ्यले पनि यो समस्या सामान्य नभएको स्पष्ट पार्छ।
यी सबै घटनाको जरोमा पितृसत्तात्मक सोच, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी र कमजोर कानुनी कार्यान्वयन रहेका छन्। महिलालाई परिवारको निर्णय प्रक्रियामा समान स्थान नदिने, उनीहरूको श्रमलाई मूल्यहीन ठान्ने र हिंसालाई घरभित्रको निजी मामिला सम्झने सामाजिक प्रवृत्तिले समस्या थप जटिल बनाएको छ। पीडित महिलाले न्याय माग्दा उल्टै सामाजिक अपमान, पारिवारिक दबाब र आर्थिक कठिनाइ सहनुपर्ने अवस्थाले पनि धेरै घटना बाहिर आउन पाउँदैनन्। त्यसैले हिंसाविरुद्धको अभियानले पीडितलाई बोल्न, उजुरी गर्न र न्याय प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्छ।
अभियानको प्रभावकारिता कार्यक्रमको सङ्ख्या, सहभागीको उपस्थिति वा ब्यानरको आकर्षणबाट मापन गरिनु हुँदैन। यसको मूल्याङ्कन त हिंसाका घटनामा आएको कमी, पीडितले पाएको न्याय, महिलाको आर्थिक आत्मनिर्भरता, सुरक्षित श्रम वातावरण र समाजमा विकसित भएको समानताको व्यवहारबाट हुनुपर्छ। सदरमुकामका सभाहलमा हुने गोष्ठी र बजार क्षेत्रमा निस्कने र्यालीलाई गाउँका महिला, किशोरी र जोखिममा रहेका समुदायसम्म पुर्याउन सकिएन भने अभियानको उद्देश्य अधुरै रहन्छ। डिजिटल माध्यमबाट बनाइने चेतनामूलक सामग्रीसँगै स्थानीय भाषा र समुदायको परिवेशअनुसार प्रत्यक्ष संवाद र सचेतना कार्यक्रम आवश्यक छन्।
यसका लागि स्थानीय सरकारको भूमिका निर्णायक हुन सक्छ। प्रत्येक वडामा महिला हिंसासम्बन्धी उजुरी तथा परामर्श संयन्त्र प्रभावकारी बनाउनुपर्छ। जोखिममा रहेका महिलाका लागि सुरक्षित आवास, कानुनी सहायता, मनोसामाजिक परामर्श र तत्काल उद्धारको व्यवस्था हुनुपर्छ। घाँस तथा खर काट्ने क्रममा हुने दुर्घटना न्यूनीकरण गर्न सुरक्षित उपकरण र डोरी वितरण, जोखिमयुक्त क्षेत्रमा सचेतना, जीवन तथा दुर्घटना बिमा र वैकल्पिक आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्छ। छाउपडीजस्ता कुरीति अन्त्य गर्न कानुन कार्यान्वयनसँगै धार्मिक तथा सामाजिक अगुवा, शिक्षक, युवा र महिलाको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्छ। बेचबिखन नियन्त्रणका लागि सीमाक्षेत्रमा निगरानी, सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सूचना र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ।
त्यसैगरी, पुरुष र किशोरलाई पनि अभियानको महत्वपूर्ण साझेदार बनाउन आवश्यक छ। लैङ्गिक समानता महिलाको मात्र मुद्दा होइन, यो सभ्य र न्यायपूर्ण समाज निर्माणको साझा आधार हो। घरको काम महिलाको मात्रै जिम्मेवारी होइन भन्ने चेतना परिवारबाटै सुरु हुनुपर्छ। छोरीलाई शिक्षा, सम्पत्ति, अवसर र निर्णयको समान अधिकार दिने संस्कार विकास गर्नुपर्छ। महिलामाथि हुने हिंसा देखेर मौन बस्नु वा त्यसलाई सामान्य ठान्नु पनि हिंसालाई निरन्तरता दिनु हो भन्ने बुझाइ समाजमा स्थापित हुनुपर्छ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान केवल १६ दिनको औपचारिक कार्यक्रम होइन, वर्षभरि निरन्तर चल्नुपर्ने सामाजिक रूपान्तरणको अभियान हो। यसको सफलता तब मात्र सम्भव छ, जब सदरमुकामका सभाहलमा उठेका आवाज गाउँका भिरपाखासम्म पुग्छन्, जब महिलाले आफ्नो घरभित्र र बाहिर सुरक्षित महसुस गर्छन्, जब पीडितले न्याय पाउँछन् र जब छोरी जन्मनु, हुर्कनु तथा आत्मनिर्भर भएर बाँच्नु परिवार र समाजका लागि गर्वको विषय बन्छ।
अब महिलालाई सहानुभूति होइन, समान अधिकार चाहिएको छ। आश्वासन होइन, सुरक्षा चाहिएको छ। भाषण होइन, न्याय चाहिएको छ। अभियानका ब्यानर र नाराले मात्र महिलाको आँसु पुछिँदैन। त्यसका लागि राज्यको जवाफदेहिता, समाजको जिम्मेवारी र प्रत्येक नागरिकको व्यवहारमा परिवर्तन आवश्यक छ। महिला सुरक्षित नभएसम्म परिवार सुरक्षित हुँदैन, परिवार सुरक्षित नभएसम्म समाज समुन्नत हुँदैन र समाजमा समानता स्थापित नभएसम्म विकासले पूर्णता पाउँदैन। त्यसैले यस वर्षको १६ दिने अभियानलाई औपचारिकतामा सीमित नराखी महिलाको जीवनमा अनुभूत हुने परिवर्तनको सुरुवात बनाऔँ। यही नै लैङ्गिक हिंसाविरुद्धको अभियानको वास्तविक सफलता र न्यायपूर्ण समाज निर्माणको आधार हुनेछ।







Discussion about this post