सार्थक ब्यूरो। दैलेखको जलजले क्षेत्रमा पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्याँस अन्वेषणको क्रममा उल्लेख्य सफलता प्राप्त भएको छ। नेपाल सरकार र चीन सरकारबीच सन् २०१९ मा भएको सरकारी तहको सम्झौता अन्तर्गत सुरु गरिएको अनुसन्धानले मिथेन ग्याँसको ठूलो भण्डार देखाएको हो।
नेपाल सरकारलाई बुझाइएको प्रारम्भिक प्रतिवेदन अनुसार जलजले क्षेत्रमा मात्रै करिब १ अर्ब १२ करोड घनमिटर मिथेन ग्याँस रहेको अनुमान गरिएको छ। साथै, दैलेखकै अन्य तीन स्थानमा समेत उल्लेख्य मात्रामा मिथेन ग्याँस भएको देखिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका अनुसार, चारवटा सम्भावित भण्डारण क्षेत्रहरूबाट प्रशोधन गर्न सकिने ग्याँसले नेपाललाई करिब ५० वर्षसम्म पुग्ने आँकलन गरिएको छ।
ड्रिलिङको क्रममा संकलन गरिएका नमूनाहरू थप परीक्षणका लागि चीन पठाइएको थियो। चीनको जिओलोजिकल सर्वे कम्पनीले अन्तिम प्रतिवेदन सन् २०२५ को डिसेम्बरसम्म बुझाउने तयारी गरेको छ।
मन्त्रालयका अनुसार, प्रारम्भिक प्रतिवेदनले देशको ऊर्जा सुरक्षामा मात्रै नभई समग्र आर्थिक विकासमा समेत ठूलो योगदान पुर्याउने संकेत दिएको छ। अब दैलेखसँगै दाङ, पाल्पा र सुनसरीमा पनि परीक्षण विस्तार गर्ने योजना बनाइएको छ।
यस परियोजनाले स्वदेशी स्रोतमा आधारित ऊर्जा उत्पादनको सम्भावनालाई प्रस्ट्याउँदै नेपाललाई इन्धन आयातमा आत्मनिर्भर बनाउने दिशामा महत्त्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ।


















Discussion about this post