सार्थक ब्यूरो ।भीमदत्त नगरपालिकाको कार्यपालिका बैठकमा वडा अध्यक्षमाथि सार्वजनिक रूपमा दुर्व्यवहार भएको छ। आइतबार सम्पन्न नगर कार्यपालिकाको १२औँ बैठकमा वडा नम्बर १८ का अध्यक्ष रविन्द्रप्रसाद देवकोटामाथि बैठकमै दुर्व्यवहार भएको भन्दै उनले पत्रकार सम्मेलनमार्फत आपत्ति जनाएका छन्।
बैठकमा नगरपालिकाको विनियोजन विधेयक र आर्थिक विधेयकमाथि छलफल चलिरहेका बेला योजना तर्जुमाका सन्दर्भमा बोल्ने क्रममा वडा नम्बर ११ का अध्यक्ष प्रकाश थापाले आपत्तिजनक शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको आरोप अध्यक्ष देवकोटाले लगाएका हुन्।
देवकोटाका अनुसार, उनले कार्यविधि अनुसार पालो मागेर वडा नम्बर १८ अन्तर्गतको खैरबट्टीदेखि शुक्लाफाँटा निकुञ्जसम्मको बस्ती क्षेत्रमा सडक कालोपत्रे गर्नुपर्ने विषय उठाएका थिए। तर उक्त प्रस्ताव राख्ने क्रममा अध्यक्ष थापाले नियमविपरीत व्यवहार गर्दै सार्वजनिक रूपमा अपमानजनक शब्द बोलेका थिए।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार कार्यपालिकाको बैठक सञ्चालन कार्यविधि दफा १४ को उपदफा ४(४) मा बैठकमा भाग लिने सदस्यले बोल्ने पालो र समय बैठकको अध्यक्षताबाट तय हुने प्रावधान छ। सोहीअनुसार आफूले नियम पालना गरेको भए पनि दुर्व्यवहारमा परेपछि उनले बैठकमै असुरक्षा महसुस गर्दै बैठक बिचमै छाड्नुपरेको बताए।
अध्यक्ष देवकोटाले यस्तो व्यवहार न केवल व्यक्तिगत अपमान हो, बरु समग्र लोकतान्त्रिक अभ्यास र बैठकको मर्यादामाथि नै आघात भएको भन्दै नगरपालिकासँग आवश्यक छानबिन र न्यायिक कार्यवाहीको माग गरेका छन्।


















Discussion about this post