नेपालभर विविध कार्यक्रमसहित मनाइयो जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती

-हरि प्रसाद जोशी
नेपाली राजनीतिमा परिवर्तन, सिद्धान्त र संगठनको समर्पित नाम जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती आज देशभर विविध कार्यक्रमहरू आयोजना गरी श्रद्धाका साथ मनाइएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वमहासचिव तथा जनताको बहुदलीय जनवादु (जबज) सिद्धान्तका प्रवर्तक भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको हो।
जन्मजयन्तीको अवसरमा राजधानी काठमाडौंस्थित राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउण्डेसनको आयोजनामा ‘जबजका तीन दशक’ विषयक राष्ट्रिय विचार गोष्ठी आयोजना गरिएको छ। उक्त कार्यक्रममा फाउण्डेसनका संरक्षक तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी भएका छन्।
कार्यक्रम दिउँसो १:३० बजेबाट सुरु भएको हो। कार्यक्रममा विभिन्न नेताहरू, बुद्धिजीवी, लेखक, शिक्षाविद्हरूको उपस्थितिमा जबज सिद्धान्तको वैचारिक चर्चा गरिएको छ। साथै सो अवसरमा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पनि वितरण गरिएको छ।
मदन भण्डारीले प्रतिपादन गरेको जबज सिद्धान्तले लोकतान्त्रिक प्रतिस्पर्धा र समाजवादबीचको सन्तुलन कायम गर्दै शान्तिपूर्ण क्रान्तिको बाटोमा अघि बढ्न मार्गदर्शन गरेको बताइन्छ। पार्टीको पाँचौं महाधिवेशनबाट पारित जबज आजसम्म एमालेको मार्गदर्शक सिद्धान्तकै रूपमा स्थापित छ।
देशका विभिन्न जिल्लाहरूमा एमाले पार्टीका संगठनहरू, विद्यार्थी संगठन, जनवर्गीय संगठनहरूले रक्तदान, विचार गोष्ठी, श्रद्धाञ्जलीसभा, भित्ते चित्र र लेख प्रतियोगिताजस्ता कार्यक्रमहरूसमेत आयोजना गरेका छन्। ताप्लेजुङमा स्थानीय तह र पार्टी संगठनले संयुक्तरूपमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्।
२०५७ सालदेखि औपचारिक रूपमा स्थापना भएको ‘मदन भण्डारी फाउण्डेसन’ले हरेक वर्ष जन्मजयन्तीको अवसरमा वैचारिक र सम्मानजनक कार्यक्रम गर्दै आएको छ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवनराज आश्रितको निधन भएको थियो। आजसम्म त्यो घटना रहस्यकै गर्भमा रहेको छ।
आजको दिनले फेरि एकपटक नेपाली राजनीतिमा सिद्धान्त, संगठन र शुद्ध राजनीतिक संस्कृतिप्रतिको प्रतिबद्धता स्मरण गराएको छ।नेपालको लोकतान्त्रिक आन्दोलन र समाजवादी यात्रालाई शान्तिपूर्ण प्रतिस्पर्धा र संगठनको माध्यमबाट अगाडि बढाउने वैचारिक आधारको रूपमा स्थापित “जनताको बहुदलीय जनवाद” जबजले केवल सैद्धान्तिक दिशा मात्र दिएको छैन, उसले संगठन निर्माणमा निष्ठावान कार्यकर्ताको वर्ग पनि तयार गरेको छ, जसले पार्टीका कठिन घडीहरूमा नेतृत्वलाई आत्मबल र समाजलाई विकल्प दिने काम गरेका छन्।
२०४९ सालमा तत्कालीन महासचिव मदन भण्डारीद्वारा पार्टीको पाँचौँ महाधिवेशनमा प्रस्तुत गरिएको “जबज” सिद्धान्तले नेपालको बहुदलीय प्रजातान्त्रिक व्यवस्थाभित्र रहेर समाजवादी रूपान्तरणको बाटो खोल्ने विचार प्रस्तुत गरेको थियो। यो सिद्धान्तले वर्ग संघर्षको उद्देश्यलाई हिंसात्मक विद्रोह होइन, लोकतान्त्रिक प्रतिस्पर्धाको मैदानबाट समाधान गर्न सकिन्छ भन्ने वैचारिक मोड दिएको थियो।
तर जबज केवल कागजमा लेखिएको नारा होइन, त्यो सिद्धान्तलाई आत्मसात गर्दै संगठन निर्माणमा होमिएका हजारौं निष्ठावान कार्यकर्ताहरू नै यसको जीवन्त उदाहरण हुन्। गाउँदेखि सहरसम्म, चुनावदेखि आन्दोलनसम्म, राहतदेखि विकास अभियानसम्म सक्रिय रहेका यस्ता कार्यकर्ताहरूले पार्टीको प्रतिष्ठा, विस्तार र विश्वसनीयता कायम राख्न अहम् भूमिका निर्वाह गर्दै आएका छन्।
आजको सन्दर्भमा जबज सिद्धान्त अझ बढी सान्दर्भिक बनेको छ। किनभने मुलुक फेरि वैचारिक अन्योल, संस्थागत विचलन र व्यक्तिवादी प्रवृत्तिको उथलपुथलमा फँसिरहेको छ। यस्तो अवस्थामा जबजको मार्गदर्शन र निष्ठावान कार्यकर्ताको भूमिका नै एमालेलाई विश्वासिलो वैकल्पिक शक्तिका रूपमा पुनः स्थापित गर्न सक्छ।
एमालेभित्र हाल देखिएका गुटगत स्वार्थ, पदको लागि प्रतिस्पर्धा र विचारमाथि व्यक्तिको हालीमुहालीले संगठनलाई कमजोर बनाइरहेको बेला जबजका सिद्धान्त र त्यसप्रति निष्ठा राख्ने कार्यकर्ताको धैर्य र विवेक आवश्यक छ। उनीहरूले वैचारिक स्पष्टता, संगठनप्रति प्रतिबद्धता र जनताप्रति उत्तरदायित्व देखाएर पार्टीलाई नयाँ उचाइमा पु¥याउन सक्ने आधार तयार गरेका छन्। जबजप्रति प्रतिबद्ध रहँदै सिद्धान्तनिष्ठ कार्यकर्ताको नेतृत्वमा संगठन पुनः गतिशील बनाउनु अहिलेको ऐतिहासिक आवश्यकता बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित