सार्थक ब्यूरो ।महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर वर्षौं अघिनै बनिसकेको छ, तर किसानका खेत अझै सुक्खा छन्। ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्मको २८ किलोमिटर नहर निर्माण सकिए पनि त्यसमा अहिलेसम्म पानी चलेको छैन। फुलेलीबाट कैलालीको गोदावरीतर्फ थप २० किलोमिटर नहर निर्माणाधीन अवस्थामा छ।नहर मात्र हैन, २२ वटा शाखा नहरमध्ये आधा भन्दा बढी निर्माण भइसकेका छन्। करिब तीन हजार हेक्टरमा सिँचाइ संरचना तयार भइसके पनि भारतले टनकपुरबाट पानी नछोडेपछि किसानले सिँचाइको सुविधा लिन सकेका छैनन्।चार वर्षअघि एकपटक परीक्षणका लागि टनकपुरबाट आएको पानीले धान दिवस मनाइएको थियो। तर त्यसयता नहर सुक्खै छ। महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक डा. योगेन्द्र मिश्रका अनुसार नहरमा पानी आएमा तीन हजार हेक्टर क्षेत्रमा सिँचाइ सम्भव हुने र महाकालीबाट थप पानी आउन सके पाँच हजार हेक्टरमा विस्तार गर्न सकिने योजना छ।तर नेसनल हाइड्रोपावर कर्पोरेशन (एनएचपीसी) ले दिल्लीबाट निर्देशन नआएसम्म पानी छोड्न नमिल्ने भन्दै अडान लिइरहेको बताइएको छ। निर्देशक मिश्रका अनुसार प्रधानमन्त्रीस्तरको पहल विना पानी छोडिने सम्भावना छैन।प्रधानमन्त्री केपी शर्मा ओलीको भदौमा तय भारत भ्रमणको क्रममा यो विषयलाई प्राथमिकतामा राख्न सके नेपालले महाकाली सन्धिअनुसारको पानी पाउने आशा गरिएको छ। सन्धिअनुसार हिउँदमा ३०० क्युसेक र बर्षातमा १,००० क्युसेक पानी नेपालले पाउनुपर्ने हो।नहरमा पानी नआएकै कारण जग्गा अधिग्रहणका काममा समेत स्थानीयले असहयोग गर्दै आएको आयोजक पक्षको भनाइ छ। मिश्र भन्छन्, “पानी आएको भए किसानलाई फाइदा हुन्थ्यो, र आयोजना अगाडि बढ्न सजिलो हुन्थ्यो।”ब्रह्मदेवदेखि कैलालीको गोदावरीसम्मको मूल नहर निर्माण आगामी तीन वर्षभित्र सक्ने लक्ष्य छ। तर जग्गा अधिग्रहण, वनको स्वीकृति र मुआब्जा मागका कारण काम ढिलो भइरहेको छ। मिश्रका अनुसार, केही जग्गा मुक्त कमैयाको, केही ऐलानी भएकाले कानुनी प्रक्रिया झन्झटिलो छ।महाकाली सन्धिका जानकार विष्णु अवस्थीका अनुसार, सन्धि सम्झौता भएको तीन दशक बितिसक्दा पनि नेपालले अझै सो नहरमार्फत पानी पाउन सकेको छैन। “सरकारले गम्भीर ध्यान दिनुपर्छ”, उनी भन्छन्, “यसपालिको प्रधानमन्त्रीको भ्रमणमा यो विषय उठ्नैपर्छ।”आयोजनाको तेस्रो चरण आर्थिक वर्ष २०६३/६४ मा सुरु भए पनि बजेट अभावका कारण लामो समय थाति रह्यो। २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजना बनेपछि मात्रै कामले गति लिएको हो। अहिलेसम्म करिब ९ अर्ब रुपैयाँ खर्च भइसकेको छ भने चालु वर्षका लागि २ अर्ब विनियोजन गरिएको छ।
पहिलो र दोस्रो चरणबाट अहिले कञ्चनपुरमा ११ हजार ६०० हेक्टरमा सिँचाइ भइरहेको छ। पहिलो चरण २०४८ मा सम्पन्न भएको थियो जसले ४,८०० हेक्टरमा सिँचाइ पु¥यायो। दोस्रो चरणले ६,८०० हेक्टरमा विस्तार ग¥यो। तेस्रो चरण सफल भए कञ्चनपुर र कैलाली मिलाएर ३५ हजार हेक्टरमा सिँचाइ पुग्नेछ।-रासस


















Discussion about this post