सार्थक ब्युरो। अछामको प्रमुख स्वास्थ्य संरचना बन्दै आएको बयालपाटा अस्पताल आगामी भदौ १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई आफ्नो मातहतमा ल्याउने निर्णय गरेसँगै अब ५० शय्याको क्षेत्रीय अस्पतालको रूपमा यसले सेवा दिन थाल्ने भएको हो।
हालै प्रादेशिक अस्पताल सञ्चालनसम्बन्धी कानून प्रदेश राजपत्रमा प्रकाशित भएसँगै यस अस्पताल सञ्चालनको बाटो खुलेको हो। सामाजिक विकास मन्त्री मेघराज खड्काको निरन्तर पहल, प्रतिबद्धता र चुनावी घोषणापत्र अनुसार अस्पतालको दीर्घकालीन व्यवस्थापन अन्ततः कार्यान्वयनको चरणमा पुगेको हो।
सामाजिक विकास मन्त्रालयका अनुसार ७० प्रतिशत कर्मचारीहरू बयालपाटा अस्पतालमै कार्यरत व्यक्तिहरूमध्येबाट समायोजन गरिनेछ भने बाँकी ३० प्रतिशत पद खुल्ला प्रतिस्पर्धामार्फत भरिनेछ।
यस ऐतिहासिक पहललाई स्थानीय बासिन्दाले स्वागत गरे पनि धेरैको चिन्ता भने यहीँबाट सुरु हुन्छ,के अस्पताल भवन निर्माण भएर मात्रै पुग्छ ? सेवा भनेको भौतिक संरचनाभन्दा धेरै माथिको कुरा हो। गुणस्तरीय स्वास्थ्य सेवा, दक्ष जनशक्ति, नियमित औषधि आपूर्ति र जनउत्तरदायी प्रणाली अबको मुख्य आवश्यकता हो।
विगतमा पनि बयालपाटाले निजी साझेदार संस्था मार्फत प्रशंसनीय सेवा दिएको थियो। अब सरकारको पूर्ण व्यवस्थापनमा आएपछि त्यो स्तर कायम राख्न र अझै सुधार गर्न सरकार जिम्मेवार बन्नुपर्छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भवन बनाउनु थालनी मात्र हो,गुणस्तर भनेको नियमितता, पारदर्शिता र सेवामूलक सोचको परिणाम हो।
मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले चालेको कदम सराहनीय छ, तर जनताको अपेक्षा पूरा गर्न स्वास्थ्य संस्थालाई संरचना भन्दा सेवा को मन्त्र अनुरूप अघि बढाउनु जरुरी छ। सुदूरपश्चिमका दुर्गम जिल्लाहरूका लागि यो अस्पताल एउटा ठूलो आशा हो,यस आशालाई सेवा र समर्पणमा रूपान्तरण गर्न सक्नु नै अबको चुनौती हो।


















Discussion about this post