थारु समुदायमा आज गुरही पर्व मनाइँदै

सार्थक ब्युरो। कैलालीलगायत थारु बाहुल्य विभिन्न जिल्लामा आज मंगलबार गुरही पर्व हर्षोल्लासका साथ मनाइँदैछ। विशेषतः बालबालिकाको स्वास्थ्य र सुरक्षासँग जोडिएको यो पर्व थारु समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिन्छ।गुरही पर्व विशेष गरेर बालबालिकालाई रोगव्याधीबाट जोगाउने विश्वासमा मनाइन्छ। थारु जनविश्वासअनुसार गुरही पर्व मनाएमा बालबालिकामा आँखा पाक्ने, घाउ खटिरा, ज्वरोजस्ता रोग नलाग्ने तथा महामारी फैलिने सम्भावना कम हुने विश्वास गरिन्छ।

यस पर्वको विशेष परम्परा अनुसार कपडाबाट गुरही (पुतली) बनाएर साँझपख गाउँको दक्षिणतर्फ रहेको चौकमा बिसर्जन गरिन्छ। बालिकाहरूले ल्याएको गुरही त्यहाँ फाल्ने र बालकहरूले “दे घुघ्री, दे घुघ्री” भन्दै सोंताले गुरही पिट्ने चलन रहेको छ। त्यसपछि बालिकाहरूले मकैको भुजा, गेडागुडी आदिको परिकार बाँडेर खाने गर्छन्।

साहित्यकार छविलाल कोपिलाका अनुसार गुरही पर्वको उत्पत्ति एक बालिका ‘गुरही’ सँग जोडिएको लोककथाबाट भएको हो। उनले बताए अनुसार महामारीका कारण थारु गाउँमा बालबालिकाको मृत्यु दर बढिरहेको बेला ‘गुरही’ नामकी बालिका देवीको रूपमा जन्मिएको र कपडाको गुरही–गुरहा बनाएर खेलाउने, विवाह गराउने परम्पराको सुरुवात गरेकी थिइन्। ती गुरही–गुरहाले महामारी फैलाउने किरालाई खाएर सखाप पारेपछि गाउँमा बालबालिकाको मृत्यु दर घटेको जनविश्वास रहिआएको छ।

थारु अगुवा ठाकुरप्रसाद करिया प्रधानका अनुसार आज धनगढीको गुरही चौकसहित विभिन्न गाउँहरूमा भव्य रूपमा गुरही पर्व मनाइँदैछ। यस पर्वले न केवल थारु समुदायको सांस्कृतिक पहिचानलाई उजागर गर्छ, तर बालबालिकाप्रति समुदायको सामूहिक माया, सुरक्षा र आस्था पनि झल्काउँछ।दाङ, बांके, बर्दिया ,कैलाली र कञ्चनपुरका थारु समुदायले   गुरही पर्व मनाउँदै आएका छन्,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित