सार्थक ब्युरो। अछामको प्रख्यात बयालपाटा अस्पताल अब प्रदेश सरकार मातहत सञ्चालनमा आउने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले ‘प्रादेशिक अस्पताल सञ्चालनसम्बन्धी कानुन’ प्रदेश राजपत्रमा प्रकाशित गरेसँगै बयालपाटा अस्पताललाई प्रादेशिक संरचनामा समेट्ने बाटो खुलेको हो।
सामाजिक विकास मन्त्रालयका अनुसार आगामी भदौ १ गतेदेखि यो अस्पताल ५० शय्याको प्रादेशिक अस्पतालको रूपमा औपचारिक रूपमा सञ्चालनमा आउनेछ।
विगत केही वर्षदेखि गैरसरकारी संस्था ‘न्याय हेल्थ नेपाल’ मार्फत सञ्चालन हुँदै आएको बयालपाटा अस्पताल हालै दाताहरूले सहयोग घटाउँदै लगेपछि आर्थिक संकटमा परेको थियो। यस्तै चुनौतीपूर्ण घडीमा प्रदेश सरकारको सक्रियताले अस्पतालको भविष्यमा नयाँ ढोका खोलेको छ।
सामाजिक विकासमन्त्री मेघराज खड्काले यो निर्णयलाई ऐतिहासिक भन्दै बयालपाटालाई सरकारी संरचनामा ल्याउनु न केवल कानुनी प्रगति भएको, तर जनताको अपेक्षा र संवैधानिक दायित्व दुवै पूरा गर्ने कदम भएको बताएका छन्।
“अब हामी केवल भवन मात्र बनाउँदैनौं, गुणस्तरीय स्वास्थ्य सेवा दिने संरचना निर्माण गर्छौं,” मन्त्री खड्काले भने, “बयालपाटा अस्पताललाई प्रदेश सरकार मातहत ल्याएर हामीले जनताको विश्वास जित्ने र उनीहरूको जीवन रक्षा गर्ने जिम्मेवारीमा एक कदम अघि बढेका छौं।”
उनका अनुसार अस्पतालमा जनशक्ति, औषधि, उपकरण, विशेषज्ञ सेवा, मातृ-शिशु स्वास्थ्य, आकस्मिक तथा शल्यक्रिया सेवाहरू थप विस्तार गरिनेछ। स्वास्थ्यकर्मीको कार्यसम्पादन मूल्यांकन, पारदर्शिता र अनुगमन प्रणालीलाई समेत मजबुत बनाइनेछ।
स्थानीय बासिन्दा, जनप्रतिनिधि, नागरिक समाज र स्वास्थ्यकर्मीहरूले यो निर्णयलाई दीर्घकालीन, दूरदर्शी र समयानुकूल कदमको रूपमा लिएका छन्। १७ वर्षअघि सुरु गरिएको बयालपाटा अस्पताल अब पहिलोपटक प्रदेश सरकारको प्रत्यक्ष व्यवस्थापनमा आउनेछ।
अस्पतालले अछामसहित बाजुरा, डोटी, कालीकोट, दैलेखजस्ता दुर्गम जिल्लाका नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। दुर्गम बासिन्दाका लागि यो अस्पताल जीवनदायी बनेको छ। प्रदेश सरकार मातहत आएपछि अहिले प्रदान गरिँदै आएका सेवाहरू निरन्तर र अझ गुणस्तरीय बनाइनेमा सरोकारवालाहरू आशावादी देखिएका छन्।


















Discussion about this post