सार्थक ब्युरो। किसानका नेता, श्रमिकका साहस, र उत्पीडित आवाजका हिमायती सहिद भीमदत्त पन्तको ७२औं स्मृति दिवस आज देशभर श्रद्धाका साथ मनाइएको छ। तर, यो केवल एक स्मृति दिवस मात्र होइन, अन्याय र विभेद विरुद्ध उभिएका विचारहरूको पुनः स्मरण र व्यवहारमा लागू गर्ने अवसर पनि हो।
वि.सं. १९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्त बुवा तारानाथ र आमा सरस्वतीका सुपुत्र थिए। भारतको उत्तर प्रदेशको सिंहाइबाट संस्कृत विषयमा अध्ययन गरेका उनले गीता र माक्र्सवादलाई जीवनदर्शनका रूपमा आत्मसात गरे। शिक्षाले उनी विद्वान् त बने, तर त्यो ज्ञानलाई सामाजिक रूपान्तरणको लागि प्रयोग गर्न लागिपरे।
सामुदायिक रूपान्तरण समूहका अध्यक्ष नरिराम लोहारका अनुसार, “गीता र माक्र्सका विचारले भीमदत्तलाई विद्रोही बनायो। उनले २००७ सालदेखि सामन्ती, छुवाछूत, श्रमशोषण र जातीय विभेदविरुद्ध खुलेर विद्रोह गरे।” उनी भन्छन्, “उहाँको नेतृत्वले उस समयका उत्पीडित जनसमुदायमा आत्मबल र जागरणको सिर्जना गर्यो।”
२००९ वैशाख २ गते घटालथानको भेलामा उनले सबै जात–जातिलाई एउटै थालमा खाना खुवाएर सामाजिक एकताको ऐतिहासिक उदाहरण पेश गरे। “उहाँले भाषणमा मात्र होइन, व्यवहारमै जातीय भेद हटाउने काम गर्नुभयो,” भन्छिन् पूर्व सांसद निरा जैरू। “दलित, थारू, मगर, मुसलमान सबैलाई उचालेर मुक्ति सेनाको अवधारणा ल्याउनु उहाँको दूरदर्शिता थियो।”
भीमदत्तले जोताहा किसानको पक्षमा उभिँदै सामन्तहरूको तमसुक जलाए, जबरजस्ती बेदखली रोके, भूमिहीनको आवाज बने। हलिया नेता राजुराम भूल भन्छन्, “हामी नागरिक हौं भन्ने आत्मगौरव उहाँबाट पायौं। उहाँको निधनले आन्दोलन रोकिन त सक्यो, तर समाप्त भएन।”
तर भीमदत्तको विचारबाट डराएका शक्तिहरूले अन्ततः उनको हत्या गरे। २०१० साल साउन १७ गते बुडरको गइलेकमा गोली प्रहार गरियो, टाउको काटी बाँसको टुप्पोमा झुण्ड्याइयो। काजक्रिया गर्नसमेत नदिई अन्त्येष्टि भारतको हरिद्वारमा गरियो।
“उहाँको हत्या युगको अन्त्य भए पनि विचारको शुरुवात बन्यो,” भूमि अधिकारकर्मी रामबहादुर चुनारा बताउँछन्। “भीमदत्तले भन्नुहुन्थ्यो, ‘कि त जोत हलो, कि त छोड थलो, हैन भने अब छैन भलो।’ आज पनि यो नारा उत्तिकै सान्दर्भिक छ।”
विसं २०७२ मा सरकारले उहाँलाई औपचारिक रूपमा सहिद घोषणा गर्यो। तर, सहिद पन्तको सपना तबमात्र पूरा हुन्छ, चुनारा भन्छन्, “जब भूमिहीन र सुकुम्बासीले जमिन पाउँछन्, गरिबका छोराछोरीको विद्यालयमा समान पहुँच हुन्छ, किसान आत्मनिर्भर बन्छ, अनि मात्र न्याय र समानताको आधार तयार हुन्छ।”
भीमदत्त पन्त आज शरीरमा हामीसँग छैनन्, तर वहाँका सपना, विचार र विद्रोहको चेतना अहिले पनि सजीव छ। भूमि अधिकारकर्मीहरू भन्छन्— आज पनि जो जोत्दछ, उसैले खान पाउनुपर्छ भन्ने आवाजलाई भीमदत्तले नै दिशा दिएका थिए।राज्यले सहिदहरूलाई बराबरी सम्मान गर्नु पर्छ। सहिद पन्त राष्ट्रकै साझा सम्पत्ति हुन्, कुनै भूगोल वा वर्गविशेषको होइनन्। तर राज्य संरचनाबाट हुने सहिदको पनि वर्गीकरण—पूर्वका सहिदका नाममा करोडौं, पश्चिमका सहिद पन्तको नाममा शून्य? यसले राज्यप्रतिको जनआस्था घटाउने मात्र होइन, संघीयताको आत्मालाई समेत कुण्ठित गर्छ।
आजको दिनमा सहिद पन्तको विचार—सामन्तवादको अन्त्य, वर्गीय मुक्तिको बाटो, र किसानको न्याय—झन तीव्र रूपमा प्रतिध्वनित भइरहेका छन्। तर दुःखको कुरा, उहाँको स्मृति संरक्षणमा राज्यको सक्रियता देखिँदैन। आज पनि उहाँका सपना अधुरा छन्, र उहाँसँग राज्यको व्यवहार विभेदकारी छ।— रासस


















Discussion about this post