स्याउ पाके बारीमा, बाटो बन्द हुँदा स्याउ खेर जाँने किसानको चिन्ता

सार्थक ब्यूरो ।बाजुरामा स्याउ बारीभरि राताम्य परेको छ तर किसानले बजारसम्म पुर्याउन नसक्दा सड्ने जोखिम बढेको छ। मार्तडी–कोल्टी सडक असार महिनादेखि अवरुद्ध हुँदा किसानले टिपेको स्याउ बारीमै थन्किन बाध्य भएका हुन्।बुढीनन्दा नगरपालिकाका स्याउ किसान मानबहादुर रावतका अनुसार भदौको पहिलो हप्तादेखि अन्तिमसम्म स्याउ पाकिसक्छ। “त्यो समयभित्र बेच्न नसके स्याउ सडेर जान्छ,” उनले चिन्ता व्यक्त गरे।बाजुराको बडिमालिका, गौमुल, बुढीगङ्गा, खप्तड छेडेदहलगायत क्षेत्रमा थोरै मात्र उत्पादन हुने भए पनि स्वामीकार्तिक खापर, जगनाथ र बुढीनन्दामा भने स्याउ राम्रो मात्रामा फल्ने गरेको छ। पछिल्लो समय किसानले स्थानीय जातसँगै गोल्डेन गाभा, फुजी गाला र डेलिसिएस जातका स्याउ रोपेका छन्।

सडक बन्द भएपछि किसानले लगानी उठाउनै नसक्ने अवस्था बनेको छ। किसान भन्छन्, “स्याउ खेती मुख्य आम्दानीको बाटो बनेको छ, तर बाटो बन्द हुँदा स्याउ खेर जाँदैछ।”आर्थिक वर्ष २०८०/८१ मा पनि बाटो बन्द हुँदा कृषि ज्ञान केन्द्र बाजुराले खच्चडमार्फत ढुवानीको लागि अनुदान दिएको थियो। तर यस वर्ष भने त्यस्तो व्यवस्था नभएको केन्द्रले जनाएको छ।

बाजुरामा हाल करिब १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। गत वर्ष मात्रै एक हजार २० मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले जानकारी दिए।

लगातारको वर्षाका कारण बाटो सञ्चालन गर्न कठिन भएको भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ। डोजरमार्फत सडक सफा गर्ने प्रयास भए पनि पानी नरोकिने भएकाले समस्या भएको कार्यालय प्रमुख जङ्गबहादुर थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित