सार्थक ब्यूरो ।जेएनजी आन्दोलनपछि कञ्चनपुरमा लगाइएको कर्फ्यु अन्ततः हटाइएको छ। अब भोलि आइतबार विहान ५ बजेपछि निषेधाज्ञा पनि हटाइने भएको छ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लक्ष्मण ढकालले शनिबार एक सूचना जारी गर्दै कर्फ्यु आदेश हटाइएको जानकारी दिएका हुन्।
भदौ २४ गते बिहानदेखि जेएनजी आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासन ऐन २०२८ अनुसार कञ्चनपुर जिल्लाभर कर्फ्यु र निषेधाज्ञा लगाइएको थियो। आन्दोलनका क्रममा कफ्र्यु र निषेधाज्ञा उल्लङ्घन गरी सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनीसमेत गरिएको थियो।
कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने आइतबार विहान ५ बजेसम्म यथावत रहने जनाइएको छ। त्यसपछि मात्र निषेधाज्ञा पनि हटाइनेछ।
जिल्ला प्रशासनले कफ्र्यु तथा निषेधाज्ञा लागू गर्दा सदरमुकाम महेन्द्रनगर बजार क्षेत्र, पूर्व–पश्चिम राजमार्ग आसपास करिब तीन किलोमिटर क्षेत्र, बेलडाँडी, बेलौरी, लालझाडी, पुनर्वास र दोधारा–चाँदनी नगरपालिकाका बजार क्षेत्रमा पूर्ण रोक लगाइएको थियो।
अहिले अवस्था सामान्य बन्दै गएको र अन्तरिम सरकार गठन भइसकेकाले चरणबद्ध रूपमा सबै प्रतिबन्ध हटाउने तयारी भएको प्रशासनले जनाएको छ।









Discussion about this post