सार्थक ब्यूरो ।कञ्चनपुर जिल्लामा जेएनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी, लुटपाट र व्यापक क्षतिले देशभित्रै एउटा गहिरो सामाजिक,राजनीतिक प्रश्न उभ्याएको छ। आन्दोलनहरू नागरिक असन्तुष्टि व्यक्त गर्ने संवैधानिक अधिकार हुन्, तर हिंसात्मक रूपमा विस्फोट हुँदा तिनले स्थानीय संरचना, आर्थिक स्रोत, सामाजिक विश्वास र राजनीतिक स्थायित्व सबैलाई कमजोर बनाइ दिन्छन्।
प्रारम्भिक तथ्याङ्क अनुसार, आन्दोलनले कञ्चनपुरमा,जिल्ला प्रशासन कार्यालय, सरकारी वकिल कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुर कारागार, विभिन्न इलाका प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी गरियो।शुक्लाफाँटा, पुनर्वास, कृष्णपुर, भीमदत्त, बेलडाँडी, दोधारा–चाँदनी लगायतका पालिकाहरूका वडास्तरमै कार्यालय, भवन र सामाग्रीहरू नष्ट गरिए।
सत्तारूढ एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका पार्टी कार्यालयहरूमा समेत आगजनी तथा तोडफोड भयो।
गृहमन्त्री रमेश लेखकदेखि पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल, पूर्वअर्थमन्त्री प्रकाश रावल, मेयर–उपमेयरहरू, प्रदेशसभा सदस्यहरू, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, अन्य उच्चपदस्थ व्यक्तिहरूका घर र व्यवसायहरूमा समेत आगजनी, तोडफोड र लुटपाट गरियो।
निजी क्षेत्र ‘ होटल, क्लब, पुस्तक पसल, गार्मेन्ट्स, एनसेल सेन्टर, मोटरसाइकल, स्कुटर, नगरपालिका गाडी, दमकल, ट्रयाक्टर, शववाहन आदि पनि जले वा नष्ट भए।
यो सम्पूर्ण क्षति केवल भौतिक मात्र नभई, सामाजिक र मनोवैज्ञानिक समेत हो — स्थानीय जनतामा त्रास, अविश्वास र राजनीतिक वितृष्णा फैलिएको छ।
जेनजी आन्दोलन मूलतः भ्रष्टाचारविरुद्ध, पारदर्शिता र उत्तरदायी शासनको मागसहित सुरु भएको थियो। तर जब आन्दोलन हिंसात्मक बन्यो, त्यसले आफ्नै उद्देश्यलाई कमजोर बनाइदियो —
आन्दोलनकारीलाई अपराधीको रूपमा चित्रित गरियो,पीडित जनताको सहानुभूति गुम्यो।यसले शान्तिपूर्ण विरोधलाई हिंसाले प्रतिस्थापन गर्दा आन्दोलनको राजनीतिक तथा नैतिक वैधता नै प्रश्नवाचक बनेको देखायो।
यस्तो व्यापक क्षति हुनुले राज्यको सुरक्षात्मक तयारी, संकट व्यवस्थापन क्षमता र राजनीतिक नेतृत्वको जिम्मेवारीप्रति पनि गम्भीर प्रश्न खडा गरेको छ —प्रहरी र प्रशासन समयमै तयारीमा थिएनन्,नेतृत्वले संवाद र सहमति खोज्ने प्रयास नगरेर आन्दोलनलाई विस्फोट हुन दिए,जोखिममा रहेका सार्वजनिक सम्पत्ति र व्यक्तिहरूलाई सुरक्षित गर्ने न्यूनतम संयन्त्र पनि विफल भयो।
यो असफलता केवल प्रशासनिक कमजोरी होइन, शासनप्रतिको जनविश्वास क्षयको द्योतक हो।
कञ्चनपुरमा नष्ट भएका भवन, सवारीसाधन, कार्यालय र निजी सम्पत्तिको भौतिक पुनःनिर्माण चुनौतीपूर्ण छ। तर त्योभन्दा ठूलो चुनौती हो—स्थानीय जनमानसमा हराएको सुरक्षाको अनुभूति पुनःस्थापना,राजनीतिक दल र जनताबीचको भरोसा फिर्ता ल्याउने,असन्तुष्ट युवा समुदायसँग संस्थागत संवादको बाटो खोल्ने।राज्यले यी सबैलाई प्राथमिकतामा राख्न सकेन भने कञ्चनपुरमा मात्र होइन, देशभर यस्तै हिंसात्मक विस्फोट दोहोरिने जोखिम रहन्छ।
जेएनजी आन्दोलनले कञ्चनपुरमा पुर्याएको क्षति एउटा स्पष्ट चेतावनी हो —जब राज्य असन्तुष्ट युवाको आवाज सुनिदिँदैन, आक्रोश हिंसामा रूपान्तरित हुन्छ र समाजले त्यसको उच्च मूल्य चुकाउनु पर्छ।
शान्तिपूर्ण आन्दोलन सुनिश्चित गर्ने कानुनी संयन्त्र बलियो बनाउन,क्षतिपूर्ति र राहत प्रक्रिया पारदर्शी बनाउन,राजनीतिक नेतृत्वलाई जवाफदेही बनाउन तत्काल कदम चाल्नुपर्छ।अन्यथा, परिवर्तनको माग गर्ने आन्दोलनहरू फेरि पनि विनाशको बाटोमा हिँड्नेछन्।










Discussion about this post