परिवर्तनका लागि आन्दोलन र सुधार: काँग्रेसले आत्मसुधारबाटै पुनर्जागरण गर्नुपर्छ

लझ्मी भट्टराई, नेपाली कांग्रेस जिल्ला समिती सदस्य, दैलेख

इतिहासले प्रमाणित गरिसकेको छ — परिवर्तन बिना प्रगति सम्भव हुँदैन, र परिवर्तनका लागि आन्दोलन अपरिहार्य हुन्छ।नेपालको राजनीतिक यात्रामा बारम्बारका आन्दोलनहरू जनताको स्वतन्त्रता र अधिकारको चाहनाबाट प्रेरित भएका छन्:

  • वि.सं. २००४–२००७ को प्रजातान्त्रिक आन्दोलनले राणा शासनको अन्त्य गर्‍यो

  • २००७ सालको क्रान्तिले लोकतन्त्रको ढोका खोलेर नेपाली कांग्रेसलाई जनताको पार्टी बनायो,

  • २०१७ सालमा जब पञ्चायती निरंकुशता आयो,

  • २०३६ सालको जनमत संग्रहले बहुदलको चाहनालाई पुनर्जीवित गर्‍यो,

  • २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्‍यो,

  • २०५२–२०६२ को माओवादी जनयुद्धले वर्गीय असमानताविरुद्ध विद्रोह उठायो,

  • २०६२- ६३ को जनआन्दोलनले राजतन्त्रलाई हटाएर जनसत्ता पुनःस्थापित गर्‍यो,

  • र अन्ततः २०६५ सालमा गणतन्त्र घोषणा हुँदै नेपालले नयाँ युगमा पाइला राख्यो।यी आन्दोलनहरू केवल राजनीतिक घटनामात्र थिएनन्, न्याय, समानता, सहभागिता र परिवर्तनका लागि आम जनताको बलिदानको जीवित दस्तावेजहरू हुन्।

  • आत्मसमीक्षा र सुधारको आवश्यकता

    नेपाली कांग्रेस ती सबै आन्दोलनहरूको केन्द्रमा रही आएको ऐतिहासिक दल हो। तर अहिले कांग्रेसमाथि आलोचना बढ्नुको कारण डर होइन, सुधारको आवश्यकता हो।

    पार्टीभित्र “म र मेरा” को संकुचित सोच, गोत्र र नाताको आधारमा टिकट बाँड्ने प्रवृत्ति, भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई संरक्षण गर्ने बानी, र शीर्ष नेताहरूबीच आपसी विश्वासको अभाव — यी सबैले कांग्रेसप्रति जनताको भरोसा कमजोर बनाइदिएको छ।

    बी.पी. कोइरालाको विचार थियो — “प्रजातन्त्र भनेको विचार र मतभिन्नतालाई सहने क्षमता हो।”
    त्यसैले आज कांग्रेसले बीपीको यही विचार आत्मसात गर्दै, गल्ती स्वीकार गर्ने, सुधारका बाटो खोल्ने, र पारदर्शिता–जवाफदेहिताको संस्कृतिमा फर्किनु अत्यावश्यक छ।

    कांग्रेस चुनाव हार्नुको मुख्य कारण भ्रष्टाचार आरोपित र गुटीय व्यक्तिहरूलाई उम्मेदवार बनाउने प्रवृत्ति हो। जनताले बीपी कोइरालाको योगदान बिर्सेका छैनन्, तर उनीहरूको सिद्धान्तबाट भट्केका नेताहरूप्रति विश्वास हराउँदै गएको छ।

    अब पार्टीले स्वच्छ छवि भएका, जनतासँगै उभिने, जरा स्तरमा काम गरेका कार्यकर्ताहरूलाई अगाडि ल्याउनुपर्छ। नयाँ पुस्ताको चाहनाअनुसार पारदर्शिता, समावेशिता, सामाजिक न्याय र सहभागितालाई मूल मूल्य मान्नुपर्छ।

    कांग्रेसले लोकतन्त्र, समाजवाद उन्मुख अर्थव्यवस्था, राष्ट्रिय एकता, समावेशिता, सामाजिक न्याय, सन्तुलित परराष्ट्र नीति, र संविधानको सर्वोच्चतालाई आफ्नो मूल मार्गदर्शक बनाउनुपर्छ।
    यही नीति–मूल्यको निष्ठापूर्वक कार्यान्वयनले मात्र पार्टीप्रति जनताको विश्वास पुनःस्थापित गर्न सकिन्छ।

    आन्दोलनहरूले देशमा परिवर्तन ल्याएका छन्, तर सुधारले मात्र ती परिवर्तनलाई दिगो बनाउँछ।
    आज नेपाली कांग्रेससँग फेरि एक ऐतिहासिक अवसर छ — गल्ती स्वीकार गर्ने, सुधारको बाटो समात्ने, र युवापुस्ताको आशा अनुसार काम गरेर लोकतान्त्रिक नेपाल निर्माण गर्ने।

    यदि कांग्रेसले आत्मसुधार गर्दै जनताको पक्षमा उभिने साहस देखायो भने, फागुन २१ मा जनताको बहुमत फेरि कांग्रेसकै पक्षमा उभिन सक्छ।यही हो इतिहासको सिकाइ, र यही हो भविष्यको प्रेरणा।-जय नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित