एमाले बैठक स्थगित, ओली नेताहरूसँग व्यक्तिगत भेटवार्ता गर्दै

सार्थक ब्यूरो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने भएका छन्। अहिले उनी पदाधिकारी तहका नेताहरूसँग व्यक्तिगत रूपमा छलफल गर्ने रणनीतिमा छन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याललगायत नेताहरूसँग ‘वान टु वान’ भेटवार्ता गरेका छन्।
गौतमका भनाइमा, अध्यक्ष ओलीले सबै नेताको धारणा बुझेर मात्रै सचिवालयमार्फत पार्टीको आधिकारिक अडान सार्वजनिक गर्ने योजना बनाएका छन्। तर बैठक दसैँअघि वा पछि बस्ने भन्ने विषय अझै टुंगो लाग्न बाँकी छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थिति फेरिएको छ। आन्दोलनपछि प्रतिनिधिसभा विघटन, गैरदलीय सरकार गठन र फागुन २१ गते चुनाव मिति तोकिएको छ। संसद विघटनलाई प्रमुख दलहरूले असंवैधानिक भन्दै विरोध जनाइरहेका छन्। यसबीच नेपाली कांग्रेस, माओवादी केन्द्र र रास्वपाले आधिकारिक बैठक गरी निर्णय सार्वजनिक गरिसके पनि एमालेले भने त्यस्तो कदम चालेको छैन।
आन्दोलनका क्रममा ओलीको बालकोटस्थित निवासमा आगजनी भएपछि उनी भक्तपुरको गुन्डुस्थित भाडाको घरमा बस्दै आएका छन्। प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली केही समय नेपाली सेनाको सुरक्षा घेरामा पनि थिए।
एमालेभित्र हाल नेतृत्व परिवर्तन र पार्टी पुनर्संरचनाको आवाज चर्किंदै गएको छ। तर, ओलीले त्यसप्रति लचिलोपन देखाएको छैनन्। त्यसैले अहिलेको व्यक्तिगत भेटवार्ता शैलीलाई नेताहरूले आन्तरिक विवाद व्यवस्थापन गर्ने ओलीको प्रयासका रूपमा व्याख्या गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित