सार्थक ब्यूरो । आउँदो चाडपर्वलाई शान्तिपूर्ण बनाउन सुदूरपश्चिम प्रदेश प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार पर्वमा हुने सम्भावित अपराध, झैझगडा वा अमनचयन खलबलिन सक्ने गतिविधिलाई नियन्त्रण गर्न प्रदेशभर पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षा योजनाअन्तर्गत मोबाइल टोली, सादा पोसाकमा प्रहरी र पैदल गस्ती सक्रिय गरिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “कुनै घटनामा तुरुन्त प्रतिक्रिया दिन सक्ने गरी योजना तयार पारिएको छ, जसले चाडपर्वमा शान्ति–सुरक्षा कायम गर्न सहयोग पुर्याउनेछ।”
सुदूरपश्चिम भारतसँगको खुला सीमाले गर्दा संवेदनशील मानिने प्रदेश हो। हालैको जेनजी आन्दोलनका क्रममा विभिन्न जिल्लाका कारागारबाट कैदीबन्दी फरार भएकाले सुरक्षा चुनौती अझ बढेको प्रहरीले जनाएको छ। अझै सबै फरार कैदी नपक्रिएको अवस्थाले प्रहरीले थप सतर्कता अपनाएको हो।
यसरी फरार कैदीबाट आपराधिक गतिविधि बढ्ने जोखिमलाई ध्यानमा राखी भारतीय सुरक्षाकर्मीहरूसँग समेत समन्वय गरिएको र सीमा क्षेत्रमा काउन्टर पार्टसँग मिलेर निगरानी बढाइने प्रहरीले स्पष्ट पारेको छ। साथै, सबै जिल्लामा फरार कैदी पक्राउका लागि सर्कुलर जारी गरिएको रानाभाटले बताउनुभयो।








Discussion about this post