सार्थक ब्यूरो । परम्परागत रूपमा जङ्गलमा कन्दमूल, तरुल र गिठा खाएर गुजारा गर्दै आएका राउटे समुदाय अहिले समाजसँगै घुलमिल हुँदै बस्तीमै बसोबास गर्न थालेका छन्।
भीमदत्त नगरपालिका–९ टुँडिखेलमा बसोबास गर्ने बडसिंह राउटे भन्छन्, “सरकारले हामीलाई जङ्गलबाट बस्तीमा ल्यायो र भत्ता दिने गरेको छ। तर सीपअनुसार काम नपाएपछि अहिले भत्तामै निर्भर हुनुपरेको छ।”
पहिले काठका भाँडाकुँडा बनाएर गुजारा गर्ने उनीहरू बस्तीमा आएपछि काठ ल्याउन नपाउने भएकाले परम्परागत पेसा हराउँदै गएको छ। सरकारी भत्ता महिनामा खानपिनका लागि पर्याप्त नपुग्ने र रोजगारी नहुँदा समस्या भएको स्थानीय राउटेहरूको गुनासो छ।
किरिदेवी राउटेले भत्ता मात्रले जीवन धान्न नसक्ने बताउँदै भनिन्, “समाजमा मिसिएका छौँ तर आयआर्जनको स्रोत नभएकाले छोराले रोजगारी खोज्दै भारत पस्नुपर्यो।”
जङ्गलको तुलनामा बस्तीमै बस्न सहज भए पनि रोजगारी र आत्मनिर्भरता नहुँदा कठिनाइ झेल्नुपरेको उनीहरूको भनाइ छ। “जङ्गली जीवन भन्दा समुदायमै बस्नु राम्रो छ,” बडसिंह राउटे थप्छन्, “तर सरकारले आम्दानी हुने कामतर्फ ध्यान दिनुपर्छ।”
कञ्चनपुरमा हाल राउटे समुदायका तीन परिवार मात्र रहेका छन्। दार्चुलाको लाली हुँदै डडेल्धुराको जोगबुढा पार गरेर उनीहरू कञ्चनपुरमा आइपुगेका हुन्। गाउँघरमा अवसर मिल्दा मजदुरी गर्न थाले पनि परम्परागत सीपले मात्र गुजारा गर्न कठिन भएको उनीहरूको अनुभव छ।
अनिता राउटे भन्छिन्, “हाम्रो पूर्खाको सीप अहिलेको समयसँग मेल खाँदैन। सरकारले सीपमूलक तालिम दिए आत्मनिर्भर बन्न सक्थ्यौँ।”
अहिले राउटेहरूले सरकारी भत्ताबाट खाद्यान्न किनेर दैनिकी चलाउने गरेका छन्। उनीहरूको सामुदायिक जीवनमा फेरबदल आएसँगै चाडपर्वमा पनि सक्रिय सहभागिता जनाउन थालेका छन्।


















Discussion about this post