सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेश सरकारले यस वर्षदेखि जिल्लाका सबै पालिकामा ‘एक पालिका–दुई उत्पादन’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षका लागि कार्यक्रम तर्जुमा गरी बजेट विनियोजन गरेको छ।
कार्यक्रम कृषि ज्ञान केन्द्र कञ्चनपुर मार्फत कार्यान्वयन हुनेछ। जिल्लाभर आलु उत्पादनमा सबैभन्दा बढी प्राथमिकता दिइएको छ। बेदकोट, पुनर्वास, दोधारा–चाँदनी, शुक्लाफाँटा नगरपालिका र बेल्डाँडी गाउँपालिकामा आलु खेती कार्यक्रम सञ्चालन हुनेछ। त्यस्तै, बेलौरीमा तोरी, लालझाडीमा दलहन, कृष्णपुरमा तरकारी, र भीमदत्त नगरपालिकामा केरा खेती कार्यक्रम लागू हुने जनाइएको छ।
प्रत्येक कार्यक्रमका लागि करिब ४० लाख रुपैयाँको बजेट छुट्याइएको छ। कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत गोबिन्द सिजापतिले भने, “सबै पालिकामा किसानसँग ५० प्रतिशत साझेदारीमा कार्यक्रम सञ्चालन हुनेछ। यसले उत्पादन, बजारीकरण र उद्यम व्यवसायमा टेवा पुग्नेछ।”
कञ्चनपुरमा हाल १८ सय १५ हेक्टरमा आलु खेती हुँदै आएको छ। प्रतिवर्ष २८ हजार १ सय ३२ मेट्रिक टन आलु उत्पादन हुने अनुमान छ। जिल्लामा आलुको पर्याप्त उत्पादन नहुँदा भारत र पहाडी जिल्लाबाट आयात भइरहेको अवस्थामा कार्यक्रमले आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ। आलु र बीउ भण्डारणका लागि चिस्यान केन्द्रहरू निर्माण गर्ने योजना पनि छ।
अन्य उत्पादनतर्फ, बेलौरीमा तोरी, कृष्णपुरमा तरकारी र भीमदत्तमा केरा खेतीमा जोड दिइएको छ। यस वर्ष कृष्णपुरमा परबल तरकारी खेती कार्यक्रम समेत सुरु हुने तयारी छ। जिल्लाभर दलहन खेती अन्तर्गत लालझाडी गाउँपालिकामा मसुरो कार्यक्रम प्रवद्र्धन हुनेछ।
कृषि ज्ञान केन्द्रका तथ्याङ्कअनुसार, जिल्लाभर ५ हजार ३ सय ३९ हेक्टरमा तरकारी खेती हुँदै आएको छ र ७० प्रतिशत तरकारी स्थानीय उत्पादन हो। बाँकी ३० प्रतिशत भारत तथा सुदूरपश्चिमका पहाडी जिल्लाबाट आउने गरेको छ।
केन्द्र प्रमुख सिजापति भन्छन्, “बर्खा यामका तीन महिना बाहेक १२ महिनामा अधिकांश समय तरकारी स्थानीय उत्पादन उपलब्ध छ। केरा किसानका लागि जिल्लाभर विभिन्न स्थानमा केरा चेम्बर स्थापना गरिएका छन्।”
यस कार्यक्रममार्फत कृषकसँगको साझेदारी, बजारीकरण र चिस्यान संरचना निर्माणले जिल्लामा कृषि उत्पादनमा आत्मनिर्भरता र आय वृद्धिमा ठोस योगदान पुर्याउने अपेक्षा गरिएको छ।


















Discussion about this post