सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले १० लाख रुपैयाँभन्दा कम लागतका योजना बजेटबाट हटाउने प्रस्ताव अघि सारेका छन्। तर, सत्ता साझेदार एमालेले आपत्ति जनाएपछि सर्वदलिय बैठकमा निष्कर्ष निस्कन सकेन।
मुख्यमन्त्री शाहले जेन–जेड आन्दोलनपछिको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सकारात्मक सन्देश दिन खर्च कटौती गर्नुपर्ने बताए। तर भौतिक पूर्वाधार मन्त्री सुरेन्द्रबहादुर पाल र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल दुबै यसमा सहमत भएनन्। मन्त्री पालले योजनाहरू कार्यान्वयनको प्रक्रियामा पुगेको भन्दै कटौती असम्भव रहेको दाबी गरे भने नेता रावलले खर्च कटौतीलाई समर्थन गरे पनि योजनामै हात हाल्न नहुने धारणा राखे।
बैठकमा सहभागी एक सांसदका अनुसार मन्त्री पालले पाँच लाखभन्दा कमका योजना मात्र हटाउन सकिने सुझाव दिएका थिए। यता प्रमुख प्रतिपक्षी माओवादी दलका उपनेता अक्कलबहादुर रावलले भने मुख्यमन्त्रीको पक्षमा समर्थन जनाउँदै, “सरकारले पहिले नै २५ लाखभन्दा मुनिका योजना बजेटमा नसमावेश गर्ने घोषणा गरेको थियो, तर राखिएका योजनाहरू हटाउनुपर्छ,” भन्ने धारणा राखे।


















Discussion about this post