सार्थक ब्यूरो।अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईमाथि जेनजी समूहले तीन प्रकरणमा आरोप लगाउँदै राजीनामा माग गरेको छ।
मंगलबार जेनजी समूहले प्रमुख राईको राजीनामा माग गर्दै आयोगमा दबाब पत्र दर्ता गराएको थियो। सोही अवसरमा जारी वक्तव्यमा राईमाथि नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिद प्रकरण, र नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष तथा परोक्ष संलग्नता रहेको आरोप लगाइएको छ।
ज्ञापनपत्र बुझाउन गएका जेनजी अगुवा रिजन राना मगरले वाइडबडी जहाज खरिदको प्रक्रिया सुरु गर्ने बेला राई पर्यटन मन्त्रालयको सचिव भएको र नक्कली शरणार्थी प्रकरणको बेला गृहसचिव रहेको उल्लेख गरे। समूहको तर्क अनुसार राईमाथि पूर्वमा नै नैतिकता र निष्पक्षताको प्रश्न उठ्दै आएको छ।
वक्तव्यमा उल्लेख छ कि विशेष अदालतले वाइडबडी प्रकरणमा ‘चयनात्मक अभियोजन’ गरेको भन्दै राईको भूमिका विवादास्पद भएको हो। साथै, महाभियोग लगाएर हटाउने व्यवस्था संसद्मा नभएकोले प्रमुख राईसहित आयुक्तहरूको राजीनामा आवश्यक रहेको जेनजी समूहले जनाएका छन्।
जेनजी नेतृ वनिकाले भनेकी छिन् कि नैतिकताको आधारमा राईले राजीनामा दिए नभए थप कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ। वक्तव्यमा राजीनामा नगरे अन्य कदम चाल्ने चेतावनीसमेत दिइएको छ।


















Discussion about this post