जेनजी आन्दोलनपछि सुदूरपश्चिम प्रदेश सभा बैठक सञ्चालन अनिश्चित

सार्थक ब्यूरो। जेनजी आन्दोलनको क्रममा प्रदेश सभा भवनमा भएको आगजनी र तोडफोडले सुदूरपश्चिम प्रदेश सभा बैठक सञ्चालन अनिश्चित भएको छ। प्रदेश सभा भवनसहित सचिवालय, विषयगत समितिका कार्यालय र संसदीय दलका कार्यालयमा व्यापक क्षति पुगेको छ।
सभामुख भीमबहादुर भण्डारीका अनुसार आगजनी र तोडफोडले प्रदेश सभाका करिब ९० प्रतिशत संरचना नष्ट भएको छ। मर्मत नपुगेकाले हालसम्म बैठक सञ्चालनको विकल्प नभएको उनले बताए। घटनापछि एक महिना बितिसक्दा पनि मर्मतको काम सुरु हुन सकेको छैन।
प्रदेश सभाको पछिल्लो बैठक भदौ ५ गते बसेको थियो। जेनजी आन्दोलनकारीले भदौ २४ गते आगजनी र तोडफोड गरेपछि नीति निर्माण र कानुन निर्माण जस्ता महत्वपूर्ण कार्य रोकिएका छन्। सभामुख भण्डारीका अनुसार आगजनी र तोडफोडबाट १२ करोड रुपैयाँभन्दा बढी क्षति भएको छ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले तयार पारेको प्रारम्भिक विवरणअनुसार प्रदेश सभा सचिवालयमा सात करोडभन्दा बढी क्षति भएको छ। आगजनीबाट ६ करोड ९३ लाख २१ हजार रुपैयाँ बराबरका भौतिक सम्पत्ति नष्ट भएका छन्। साथै, भुक्तानी दिन बाँकी रहेका दुई डिजिटल डिस्प्ले बोर्ड (८ लाख ६० हजार), दुई सोफासेट (६० हजार) जलेर नष्ट भएका छन्।
सहरी विकास विभाग अन्तर्गत हस्तान्तरण नभएको रोष्टम (एसी दुई थान) पनि जलेर नष्ट भएको विवरणमा उल्लेख छ। त्यसैगरी, सचिवालयको ६९ लाख ९९ हजारको मिनी बस, ३ करोड ३१ लाख ४९ हजारको छ वटा जिप, ७१ लाख ९५ हजारको पिकअप भ्यान, र चार वटा मोटरसाइकल (८ लाख २६ हजार) पनि नष्ट भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित