सार्थक ब्यूरो।दक्षिणी फिलिपिन्समा शुक्रबार बिहान आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको जोखिम अब समाप्त भएको प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएको छ।
प्रारम्भिक रूपमा फिलिपिन्स र इन्डोनेसियाका केही तटीय क्षेत्रमा साना छालहरू देखिए पनि ठूलो क्षति नभएको बताइएको छ। इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वारको स्तर करिब १७ सेन्टिमिटर पुगेको पुष्टि गरिएको छ। होनोलुलुस्थित केन्द्रका अनुसार भूकम्पपछिका केही घण्टा समुद्रमा हल्का उतारचढाव हुने सम्भावना भने अझै कायम छ।
भूकम्पबाट भएको क्षतिको विवरण संकलन भइरहेको बताउँदै राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले प्रभावित क्षेत्रका लागि उद्धार र राहत टोली तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो।
फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार भूकम्प दाभाओ ओरिएन्टल प्रान्तको माने सहरबाट करिब ६२ किलोमिटर दक्षिणपूर्वमा, १० किलोमिटरको गहिराइमा समुद्रभित्र आएको थियो।
दाभाओ ओरिएन्टलका विपद् न्यूनीकरण अधिकारी जुन सावेद्राले एपीसँग कुरा गर्दै भूकम्प अत्यन्त शक्तिशाली महसुस भएको बताए। “म कारमा थिएँ, अचानक जमिन हल्लियो, पावरलाइनहरू अनियन्त्रित रूपमा हल्लिए र बिजुली बन्द भएपछि मानिसहरू घरबाट बाहिर निस्किए,” उनले भने। उनका अनुसार विद्यालयसहित धेरै भवनमा चिरा परेको छ।
भूकम्पका कारण कम्तीमा ५० विद्यार्थी बेहोस भई अस्पताल पुर्याइएका छन्। माने र आसपासका क्षेत्रमा विद्यालय बन्द गरिएका छन् भने डाभाओ सहर (जनसंख्या करिब ५.४ मिलियन) मा समेत विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
होनोलुलुस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पको केन्द्रबाट ३०० किलोमिटरभित्रका तटीय क्षेत्रमा खतरनाक छाल आउन सक्ने चेतावनी जारी गरेको थियो। केही तटमा सामान्य भन्दा तीन मिटर उचाइका छाल देखिन सक्ने भनिए पनि पछि जोखिम घटेको पुष्टि गरिएको छ।
नागरिक रक्षा उपप्रशासक बर्नार्डो राफेलिटो अलेजान्ड्रो चतुर्थले प्रभावित सहरका बासिन्दालाई उच्च भूभागतर्फ सर्न आग्रह गर्दै अर्को सूचना आउँदासम्म सतर्क रहन निर्देशन दिएका थिए। इन्डोनेसियाको मौसम तथा भूभौतिकी निकायले पनि सुलावेसी क्षेत्रमा साना तर उल्लेखनीय छालहरू देखिएको र स्थानीयहरूलाई समुद्र किनाराबाट टाढा रहन चेतावनी दिएको छ।
यसअघि सेप्टेम्बरमा फिलिपिन्समा आएको ६.९ म्याग्निच्युडको भूकम्पमा ७४ जनाको ज्यान गएको थियो। प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने फिलिपिन्समा प्रायः शक्तिशाली भूकम्प र प्राकृतिक प्रकोपहरू हुने गरेका छन्। सरकार र राहत संस्थाहरू निरन्तर उद्धार र पुनःस्थापना कार्यमा जुटिरहेका छन्।


















Discussion about this post