सुदूरपश्चिममा धान उत्पादनमा निरन्तर वृद्धि, खेतीयोग्य क्षेत्र घट्यो

सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशमा बाली उत्पादनको क्षेत्रफल क्रमशः संकुचित हुँदै गए पनि धानसहित प्रमुख खाद्यान्नको उत्पादकत्व वर्षैपिच्छे उकालो लागिरहेको छ। खेती प्रणाली आधुनिकीकरण, उन्नत जातका बीउ प्रयोग र किसानको व्यावसायिकता बढेसँगै उत्पादनमा देखिएको सुधार कृषि विकास निर्देशनालय सुदूरपश्चिमले सार्वजनिक गरेको तथ्याङ्कले संकेत गर्छ।
निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा प्रदेशभर १ लाख ८३ हजार ३१७ हेक्टरमा धान खेती हुँदा ६ लाख ४८ हजार ९२४ मेट्रिक टन धान उत्पादन भएको थियो। प्रतिहेक्टर उत्पादकत्व ३.५४ मेट्रिक टन थियो। सोही वर्ष गहुँ १ लाख ४४ हजार ५८२ हेक्टरमा खेती भई ३ लाख ३१ हजार ९२ मेट्रिक टन उत्पादन भएको र मकै ५० हजार ६०७ हेक्टरमा १ लाख ४ हजार २५० मेट्रिक टन उत्पादन पुगेको तथ्याङ्कले देखाउँछ।
क्षेत्रफल घटे पनि उत्पादकत्व उकालो
आर्थिक वर्ष २०८०/८१ मा धानखेतीको क्षेत्रफल ४ हजार २४२ हेक्टरले घटेर १ लाख ७९ हजार ४६ हेक्टरमा सीमित भयो। तर उत्पादन झन् बढेर ६ लाख ७२ हजार ९२८ मेट्रिक टन पुगेको छ। प्रतिहेक्टर उत्पादकत्व ३.७६ मा पुग्यो।
सोही वर्ष गहुँ उत्पादन १ लाख ३९ हजार ७३२ हेक्टर क्षेत्रफलमा घटे पनि २.३५ मेट्रिक टन प्रतिहेक्टर उत्पादनसँगै कुल ३ लाख २८ हजार ६९ मेट्रिक टन गहुँ उत्पादन भएको छ। मकैको उत्पादन पनि वृद्धि हुँदै १ लाख ६ हजार ९९७ मेट्रिक टन पुगेको छ।
७९/८० र ८०/८१ दुबै वर्षमा घट्दो क्षेत्रफलबीच पनि खाद्यान्न उत्पादन बढ्दै गएको निर्देशनालयले जनाएको छ।
चालु वर्ष (२०८२/८३) मा पनि वृद्धि
चालु आर्थिक वर्षमा धानखेती क्षेत्रफल १ लाख ७७ हजार २३० हेक्टरमा झरेको छ। तर उत्पादन ६ लाख ८६ हजार ८८७ मेट्रिक टन पुगेको छ। उत्पादकत्व ३.८८ प्रतिहेक्टरमा उक्लिएको छ।
निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेका अनुसार खेती गर्ने विधि सुधार, उन्नत जातका बीउ र सरकारी अनुदानले उत्पादकत्व वृद्धि गरिरहेको छ। “धेरै उत्पादन कैलाली र कञ्चनपुरमै हुन्छ,” पाण्डेले बताए, “उन्नत बीउले उत्पादन १०–१५ प्रतिशतसम्म बढाउँछ।”
कञ्चनपुरमा प्रतिहेक्टर ४.६ र कैलालीमा ४.५ मेट्रिक टन उत्पादन हुने भएको निर्देशनालयले जनाएको छ।
सिँचाइ र बीउ अनुदानले भूमिका बढायो
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदका अनुसार सिँचाइ विस्तार र बीउबिजनमा ५० प्रतिशत अनुदानले उत्पादन वृद्धि सम्भव भएको हो। गत वर्ष मात्र नौ स्थानीय तहमा ७७६ साना सिँचाइ (ट्युबवेल) जडान गरिएको उनले बताए।
कञ्चनपुरमा साना सिँचाइ प्रणालीसँगै महाकाली सिँचाइ आयोजना–I र II बाट ११ हजार ६०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ।
कैलाली र कञ्चनपुरलाई प्रदेशकै अन्न भण्डार मानिन्छ। यी दुई जिल्लाबाट उत्पादन हुने धान र अन्य बालीले सुदूरका पहाडी जिल्लामा समेत नियमित रूपमा खाद्यान्न आपूर्ति हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित