सार्थक ब्यूरो ।नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा प्रतिनिधि सूचीकृत र प्रमाणिकरण गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल नेतृत्वको टोली प्रतिनिधिहरूको विवरण जाँच–पड्तालमा व्यस्त छ।
विभागका अनुसार आगामी महाधिवेशनमा जम्मा २६१३ जनाले सहभागिता जनाउने प्रारम्भिक अनुमान गरिएको छ। तीमध्ये २१५४ प्रतिनिधि विभिन्न निर्वाचन क्षेत्रबाट छानिएका हुन् भने १०८ जना केन्द्रीय तहबाट मनोनयन गरिने तयारी छ। मनोनित गरी समावेश गरिने प्रतिनिधिसहित संख्या २२६२ पुग्ने बताइएको छ।
यसबीच, पूर्व नेकपा ‘एस’ समूहमाथि केन्द्रित ‘घरफर्क’ अभियानमा सहभागी तीनजनाले प्रतिनिधिमा समावेश गर्न माग गर्दै आवेदन दिएका छन्। उनीहरूबारे निर्णय पार्टी सचिवालयले गर्नेछ।
धनकुटा र ओखलढुंगामा उत्पन्न भएका प्रतिनिधि छानोटका विवाद मतभेद समाधान भइसकेको अधिकारीले जानकारी दिए। ती जिल्लामा निर्देशिका विपरीत प्रक्रिया भएकाले केन्द्रले निर्णय रद्द गरी पुनः मापदण्डअनुसार प्रतिनिधि टुंग्याउन निर्देशन दिएको थियो। अन्य तीन जिल्लाबाट दर्ता भएका उजुरी भने अझै छानबिनमै रहेका छन्।
अधिकारीका अनुसार ७० प्रतिशतभन्दा बढी प्रतिनिधिको भेरिफिकेसन पूरा भइसकेको छ र मापदण्ड नपुग्ने कसैलाई पनि कार्ड नबनाउने तयारी छ।
महाधिवेशनको बन्द सत्रमा ३५१ जना सल्लाहकार परिषद सदस्य सहभागिको रूपमा रहनेछन्। परिषदका ३७६ सदस्यमध्ये २५ जनाले प्रतिनिधिमा स्थान पाएका कारण बाँकी सदस्य सहभागीका रूपमा रहने व्यवस्था गरिएको हो।
प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा कुल २६१३ जना सहभागी हुने अनुमान छ। केन्द्रका अनुसार प्रतिनिधिहरूका लागि परिचयपत्र छपाइ तीव्र गतिमा जारी छ र मंसिर २५ भित्र सम्पूर्ण पूर्वतयारी सकिने जनाइएको छ।


















Discussion about this post