पत्रकारसँग प्रत्यक्ष संवाद गर्दै जनक भण्डारी समूहले सार्वजनिक गर्यो चुनावी प्राथमिकता

टेक्सास, अमेरिका। नेपाली समाज टेक्सास (NST) को नयाँ कार्यकालका लागि अध्यक्ष पदका प्रत्याशी जनक भण्डारी नेतृत्वको समूहले चुनावी योजनाबारे खुला छलफल गर्दै टेक्सासका पत्रकारहरूसँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेको छ। सोमबार हल्टम सिटीस्थित इन्डियन किचेनको सभाहलमा आयोजित कार्यक्रममार्फत समूहले आफ्नो एजेन्डाबारे जानकारी गराउँदै सञ्चारकर्मीहरूबाट सुझाव संकलन गरेको हो।
कार्यक्रममा अध्यक्ष पदका दाबेदार भण्डारीसहित प्यानलका सबै उम्मेदवारहरूको सहभागिता रहेको थियो। भण्डारीले संस्था विगतमा सिर्जना गरेका उल्लेखनीय परियोजनाहरू स्मरण गर्दै आफू निर्वाचित भएमा एनएसटीलाई अझ सुदृढ र समावेशी बनाउने प्रतिवद्धता व्यक्त गरे। उनका मुख्य प्राथमिकतामा—मन्दिर निर्माणमा समुदायको सहभागिता विस्तार, ज्येष्ठ नागरिकका लागि यातायात सुविधा, अन्तर्राष्ट्रिय विद्यार्थी सहायता कोषको प्रभावकारी संचालन, र अमेरिकी निकायहरूसँग सहकार्य मजबुत बनाउने जस्ता योजना समावेश छन्।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार डा. चण्डी भण्डारीले टिममा समाजसेवा अनुभव भएका सदस्यहरू रहेको उल्लेख गर्दै समुदायले अपेक्षा गरेका मुद्दालाई कार्ययोजनामा रुपान्तरण गर्ने आश्वासन दिएका छन्।
त्यसैगरी महासचिव पदका उम्मेदवार रामकृष्ण यादवले सामाजिक सञ्जालभन्दा कामलाई प्राथमिकता दिने बताएका छन्। उनले संस्थाको सबै गतिविधि प्रेस विज्ञप्तिमार्फत पारदर्शी रूपमा सार्वजनिक गर्ने र हरेक तीन महिनामा पत्रकारहरूसँग सुझाव आदानप्रदान गर्ने प्रतिबद्धता गरे। समाजको सेवामा पहुँच बढाउन टोल–फ्री नम्बर सञ्चालन गर्ने योजना पनि उनले प्रस्तुत गरे।
उपाध्यक्ष पदकी उम्मेदवार गुञ्जन भण्डारीले आफू प्रारम्भदेखि नै सामाजिक अभियानमा संलग्न रहेको बताउँदै विद्यार्थी र महिलामाथि केन्द्रित कार्यक्रमहरू आवश्यक रहेको धारणा राखिन्।
अन्तरक्रियामा सहभागी पत्रकारहरूले समुदायमा देखिएका विभिन्न समस्या तथा सम्भावनाबारे सुझाव प्रस्तुत गरे। यूएस खबरका प्रधानसम्पादक ओम आचार्यले मानसिक स्वास्थ्य तथा आत्महत्या घटनाबारे गम्भीर कदम चाल्नुपर्ने सुझाव दिए भने पत्रकार मनोज जोशीले गुटबन्दी अन्त्य गर्दै सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरे। नेजाका पूर्व संयोजक किसन रेग्मीले यस्ता सुझाव कार्यक्रम चुनावपछिसमेत निरन्तर हुनुपर्ने बताए।
कार्यक्रमको अन्त्यमा डा. चण्डी भण्डारीले उठेका प्रश्नहरूको जवाफ दिँदै “समाजले दिएको एजेन्डालाई नै आधार मानेर काम गर्ने” प्रतिबद्धता दोहोर्‍याए। उनका अनुसार, “टिम जनक सेवा र मौलिक सिद्धान्तका साथ अघि बढ्न तयार छ।”
कार्यक्रमको सहजीकरण पूर्व महासचिव सन्देश उप्रेतीले गरेका थिए। भण्डारी समूहका विभिन्न पदका उम्मेदवारहरू—राधिका खराल, सुशिल बर्तौला, भोला मैनाली, रिनजिङ लामा, आदर्श भण्डारी, उजित अधिकारी, यमुना थापा तथा अन्य कार्यकारी सदस्यहरूको पनि उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित