सार्थक ब्यूरो ।कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँ नजिकै मानबहादुर चौधरीको खेत धनगढी विमानस्थलसँग जोडिएको छ। खेतमाथिबाट दैनिक जहाज ओहोरदोहोर गरेको दृश्य देख्दै हुर्किएकी उहाँकी साइँली छोरी टीका चौधरीको मनमा सानैदेखि पाइलट बन्ने सपना पलाएको थियो।
एक दिन खेतमा काम गरिरहेका बेला टीकाले बुवासामु आफू पनि जहाज उडाउने पाइलट बन्ने इच्छा व्यक्त गरिन्। छोरीको कुरा सुनेर मानबहादुर केहीबेर अचम्मित हुनुभयो। पाइलट बन्न धेरै खर्च लाग्ने र जोखिमपूर्ण पेशा भएको भन्दै उहाँले सुरुमा छोरीलाई सम्झाउने प्रयास गर्नुभयो। तर टीकाको दृढ इच्छाअगाडि उहाँको प्रयास सफल हुन सकेन।
धनगढीस्थित नास्ट कलेजबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेपछि टीकाले जसरी पनि पाइलट बन्ने अठोट गरिन्। “मेहनत म गर्छु, पैसाको जोहो हजुरले गर्नुस्,” छोरीको आग्रह सम्झँदै मानबहादुरले भन्नुभयो। त्यसपछि उहाँ आर्थिक व्यवस्थापनतर्फ लाग्नुभयो भने टीका पाइलट तालिमका लागि आवश्यक प्रक्रिया अघि बढाउन जुटिन्।
जहाजलाई जमिनबाट हेरेर सपना बुनेकी २१ वर्षीया टीका चौधरी अहिले थारू समुदायबाट पहिलो महिला पाइलट बन्न सफल हुनुभएको छ। उहाँले निजी पाइलटको प्रमाणपत्र प्राप्त गरिसक्नुभएको छ। हाल दक्षिण अफ्रिकाको स्काई हावक एभिएसनमा तालिम लिइरहनुभएकी टीकाको व्यावसायिक तालिम भने अझै पूरा हुन बाँकी छ।
टीकाका अनुसार पाइलटको तालिम पूरा गर्न कम्तीमा २०० घण्टा उडान अनुभव आवश्यक पर्छ। “अहिलेसम्म १०० घण्टा उडान बाँकी छ, अबको करिब छ महिनामा तालिम पूरा हुनेछ,” उहाँले बताउनुभयो।
निजी पाइलटको प्रमाणपत्र पाएपछि एक्लै जहाज उडाउन सकिने उहाँले जानकारी दिनुभयो। मौसमको अवस्था हेरेर अवतरणको निर्णय आफैंले गर्न सक्ने र आफूले उडाएको जहाजमा दुई जनासम्म यात्रु राख्न पाउने सुविधा रहेको उहाँको भनाइ छ। “तालिम कठिन हुन्छ, आकाशमा एक्लै जहाज उडाउनु पर्छ,” टीकाले भन्नुभयो, “तर आत्मविश्वास र मेहनत भए असम्भव केही छैन।”
मानबहादुर चौधरीका पाँच छोरी र एक छोरा गरी छ सन्तान छन्। तीमध्ये एक छोरी पाइलट बनेकोमा आफूलाई गर्व लागेको उहाँले बताउनुभयो।
यसैबीच थारू समुदायबाट पहिलो महिला पाइलट बनेर इतिहास रचेको भन्दै टीका चौधरीलाई बिहीबार धनगढीस्थित बातचित घरले सम्मान गरेको छ। सम्मान कार्यक्रममा बातचित घरका बरघरिया ठाकुर करिया प्रधानले टीकाले सिङ्गो थारू समुदायको गौरव बढाएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो।


















Discussion about this post