सुदूरपश्चिममा रेबिजको जोखिम बढ्दै, जनस्वास्थ्यमा गम्भीर असर

सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनहरूमा रेबिज रोगको सङ्क्रमण तीव्र बन्दै गएको छ। जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा गम्भीर चुनौती थपिएको सरोकारवालाले जनाएका छन्।
धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनको अवधिमा मात्रै कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भइसकेको छ। उहाँका अनुसार पछिल्ला तीन वर्षमा ३७१ पशुमा रेबिज सङ्क्रमण पुष्टि भइसकेको छ। “यो तथ्याङ्क प्रयोगशालामा परीक्षण भएर आएको मात्र हो,” उहाँले भन्नुभयो, “यस अवधिमा कम्तीमा पाँच जना मानिसको पनि रेबिजकै कारण मृत्यु भएको जानकारी आएको छ, तर धेरै घटना जानकारीमै नआउने भएकाले वास्तविक सङ्ख्या अझ बढी हुनसक्छ।”
यसै साता बझाङको सुर्मा गाउँपालिका–२ मा ७० वर्षीया महिलाको रेबिजका कारण मृत्यु भएको जानकारी आएको वरिष्ठ पशु चिकित्सक जोशीले बताउनुभयो। यसअघि चालु वर्षको असार महिनामा बैतडीमा एक बालकको पनि रेबिजकै कारण ज्यान गएको थियो। हालसम्म सबैभन्दा बढी सङ्क्रमण कैलाली र कञ्चनपुर जिल्लामा देखिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा सङ्कलित १७० नमूनामध्ये १३६ नमूनामा रेबिज पुष्टि भएको छ। तथ्याङ्कअनुसार कैलालीमा सबैभन्दा बढी सङ्क्रमण देखिएको छ, जहाँ ९८ नमूनामध्ये ७८ पोजेटिभ आएका छन्। त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, डोटीमा आठमध्ये छ तथा बझाङमा तीन नमूनामा रेबिज पुष्टि भएको प्रयोगशालाले जनाएको छ।
कैलालीको गोदावरी नगरपालिका–६ मा अन्य पशुलाई टोक्दै हिँडेको एक पशुमा दुई दिनअघि मात्रै रेबिज पुष्टि भएको छ। प्रयोगशालाको द्रुत प्रतिकार्य टोलीले सङ्कलन गरेको नमूना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको वरिष्ठ पशु चिकित्सक जोशीले जानकारी दिनुभयो।
यसअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा पनि बहुला कुकुरमा रेबिज देखिएको थियो। हाल सोही नगरपालिकाको वडा नम्बर १२ मा समेत कुकुरको आतङ्क बढ्दै गएको पशुपन्छी विकास शाखाका प्रमुख रामप्रसाद भट्टले बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय जङ्गली स्यालहरू मानव बस्तीमा पस्न थालेका छन्, जसको मुख्य कारण उखु खेती कटानीसँगै प्राकृतिक बासस्थान नष्ट हुनु हो।
“उखु कटानी सुरु भएपछि स्याल लुक्ने र आहार खोज्ने स्थान गुमाएका छन्,” भट्टले भन्नुभयो, “बासस्थान अभाव भएपछि स्याल बस्ती पस्ने, घरपालुवा जनावरलाई टोक्ने र त्यसबाट रेबिज तीव्र रूपमा फैलिने अवस्था बनेको छ।”
पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार रेबिज शतप्रतिशत प्राणघातक रोग भए पनि समयमै सावधानी अपनाएमा ज्यान जोगाउन सकिन्छ। उहाँले कुनै पनि पशुले टोकेमा घाउलाई १० देखि १५ मिनेटसम्म साबुन र सफा पानीले राम्ररी धुनुका साथै ढिलाइ नगरी तुरुन्त स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो।
असामान्य व्यवहार गर्ने, टोक्ने वा अत्यधिक र्याल झार्ने पशु देखिएमा तत्काल स्थानीय तह वा पशुपन्छी सेवा शाखामा जानकारी गराउनुपर्ने, घरपालुवा जनावरलाई नियमित खोप लगाउने, जङ्गली जनावर र भुस्याहा कुकुरबाट टाढा रहने तथा बालबालिकालाई विशेष सतर्कता अपनाउन सचेत गराउनुपर्नेमा उहाँले जोड दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित