सार्थक ब्यूरो ।निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान मितिभन्दा ४५ दिनअघि नै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। यसका लागि आयोगले ‘निर्वाचन आचारसंहिता २०८२’ को मस्यौदा तयार गरी हाल सरोकारवाला निकायसँग राय–सुझाव संकलन गरिरहेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मस्यौदामाथि प्राप्त सुझावहरूलाई समेट्दै आगामी साता सरकार र राजनीतिक दलसँग छलफल गरेर आचारसंहितालाई अन्तिम रूप दिने तयारी गरिएको छ। “आचारसंहिता अन्तिम बनाउने प्रक्रियामा सरकार र दलहरूसँग छलफल बाँकी छ,” उहाँले भन्नुभयो, “आगामी साताभित्रै त्यसबारे छलफल गर्ने तयारी भइरहेको छ।”
आयोगका अनुसार अघिल्ला निर्वाचनहरूमा पनि मतदान मितिभन्दा ४५ दिनअघि आचारसंहिता लागू हुँदै आएको छ। “सामान्य अभ्यासअनुसार निर्वाचनको ४५ दिनअघि आचारसंहिता लागु गरिन्छ,” कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनुभयो, “यस पटक पनि सोही परम्पराअनुसार माघको पहिलो सातादेखि आचारसंहिता लागू हुने देखिन्छ।” प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गतेका लागि तोकिएको छ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता निर्माण तथा कार्यान्वयन गर्ने गर्दछ। आयोगले तोकेको मिति र क्षेत्रमा उक्त आचारसंहिता लागू हुने व्यवस्था छ।
आचारसंहिता लागू भएपछि सरकार, राजनीतिक दल र उम्मेदवारहरू थप सतर्क रहनुपर्ने हुन्छ। सो अवधिमा सरकारले निर्वाचनसँग असम्बन्धित नियुक्ति, सरुवा, बढुवा तथा नियमित प्रशासनिक काम बाहेकका नीतिगत निर्णय गर्न पाउँदैन।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिता मस्यौदामाथि सुझाव आउने क्रम जारी छ र प्राप्त सुझावलाई कानुन शाखाले समीक्षा गरी समावेश गर्ने काम भइरहेको छ। “एक–डेढ महिनाअघि नै राजनीतिक दल र अन्य सरोकारवालासँग छलफल गरेर मस्यौदा तयार गरी सुझावका लागि सार्वजनिक गरेका थियौं,” उहाँले भन्नुभयो, “अब केही दिनभित्रै आचारसंहितालाई अन्तिम रूप दिने तयारीमा आयोग जुटेको छ।”


















Discussion about this post