राजनीतिक दलसँग निरन्तर संवादमा सरकार : मन्त्री खरेल

सार्थक ब्यूरो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तोकिएकै समयमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्ने सरकारको स्पष्ट चाहना र प्रतिबद्धता रहेको बताउनुभएको छ । त्यसका लागि सरकारले प्रमुख राजनीतिक दलहरूसँग नियमित रूपमा संवाद र छलफललाई अघि बढाइरहेको उहाँको भनाइ छ ।
आज नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवासमा भएको भेटपछिको सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की स्वयं पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा राजनीतिक भेटवार्ता र संवादमा सक्रिय रहेको जानकारी दिनुभयो । उहाँका अनुसार संयोजक दाहालले निर्वाचनको कुनै विकल्प नरहेको स्पष्ट पार्दै निर्धारित मितिमै चुनाव हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
मन्त्री खरेलले सरकारको तर्फबाट सबै पक्ष, सर्वदलीय संयन्त्र तथा मुख्य राजनीतिक दलका नेताहरूसँग भेटघाट र छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले दलका कार्यालयदेखि नेताहरूको निवाससम्म पुगेर संवाद गरिएको उल्लेख गर्दै यसले सकारात्मक वातावरण सिर्जना गरेको बताउनुभयो ।
सरकारले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने कार्यसँगै निर्वाचन सम्पन्न गराउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री खरेलको भनाइ छ । बाँकी रहेका भेटघाट एकल र समूहगत रूपमा, युवा तथा जेन–जी प्रतिनिधि र सुरक्षा निकायसँग समेत निरन्तर रूपमा जारी रहने उहाँले स्पष्ट गर्नुभयो ।
निर्वाचन आयोग, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकाय निर्वाचन केन्द्रित तयारीमा जुटिसकेको अवस्थामा जनतामा चुनाव सुनिश्चित हुने सन्देश प्रवाह गर्न सञ्चारकर्मीलाई समेत उहाँले आग्रह गर्नुभयो । मन्त्री खरेलका अनुसार प्रमुख तीन दलका शीर्ष नेताहरूले आफूहरू चुनाव विरोधी नभएको, निर्वाचन नै लोकतन्त्रको आधार भएको र ताजा जनादेश लिनु उपयुक्त बाटो भएको स्पष्ट धारणा राखेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि चुनावको विकल्प नरहेको र प्रतिनिधिसभा पुनःस्थापना पार्टीको मुद्दा नभएको प्रस्ट पारेको मन्त्री खरेलले जानकारी दिनुभयो । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पनि अबको राजनीतिक यात्रा निर्वाचनमै केन्द्रित हुने स्पष्ट सन्देश आएको उहाँको भनाइ छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा जानुपर्नेमा सहमति जनाउँदै त्यसका लागि सुरक्षाको वातावरण सुनिश्चित हुनुपर्ने चासो व्यक्त गर्नुभएको मन्त्री खरेलले बताए । दलहरूले व्यक्त गरेका भावनाअनुसार सरकारले आवश्यक वातावरण तयार गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री खरेलले फागुन २१ गते चुनाव हुने र सबै राजनीतिक दलहरू सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित