हिन्दू संस्कारमा जन्म, गर्भपतन र मृत्युजस्ता जीवनका संवेदनशील क्षणसँग जोडिएर आउने अशुद्ध अवस्थालाई जुठो र सुतक (आशौच) भनिन्छ । यी संस्कारहरू केवल धार्मिक कर्मकाण्ड मात्र होइनन्, सामाजिक अनुशासन, स्वच्छता र मानसिक विश्रामसँग पनि जोडिएका मानिन्छन् ।
जुठो र सुतकको धार्मिक अर्थ
धार्मिक मान्यताअनुसार जन्म र मृत्यु दुवै अवस्थामा परिवार शारीरिक, मानसिक र भावनात्मक रूपमा अस्थिर हुन्छ । यही अवस्थालाई व्यवस्थित गर्न, शुद्ध–अशुद्धको सीमा निर्धारण गर्न र कर्मकाण्डलाई सही विधिमा सम्पन्न गर्न जुठो–सुतकको व्यवस्था गरिएको हो ।
मृतकको सपिण्डी नहुँदासम्म जल अर्पण गर्दै निम्न मन्त्र पाठ गर्ने चलन छः
अनादिनी धनोदेव शंख चक्र गदाधर अक्षयम्
पुण्डरीकाक्ष प्रेत मोक्षप्रदो भव
यसको भावार्थ मृत आत्माको मोक्षको कामना गर्नु हो ।
सुतक (आशौच) कहिले लाग्छ ?
गर्भस्रावको अवस्था
छ महिनासम्मको गर्भस्राव भए आमालाई जति महिनाको गर्भ तुहेको हो, त्यति दिन सुतक मानिन्छ । बाबु र सपिण्डीलाई भने चार महिनासम्म नुहाए शुद्ध हुने र पाँच–छ महिनाको अवस्थामा तीन दिन सुतक लाग्ने मान्यता छ ।
पूर्ण जन्म वा शिशु मृत्यु
सात महिनादेखि पूर्ण जन्मसम्म सुत्केरीलाई १० दिन सुतक लाग्छ । नाल नकाटीकन शिशु मरे सपिण्डीलाई ३ दिन र सुत्केरीलाई १० दिन मानिन्छ । नाल काटिसकेपछि मृत्यु भए पूर्ण १० दिन सुतक मानिन्छ ।
माइतमा सुत्केरी भए
माइतमा सुत्केरी भएको अवस्थामा बाबु र दाजुभाइलाई १ दिन सुतक लाग्छ । म्याद नाघेर सुनेको सुतक भने बार्नु पर्दैन ।
जुठो (मृत्यु) कति दिन बार्ने ?
जुठो सम्बन्धको निकटता अनुसार फरक–फरक हुन्छ ।
त्यही दिन वा रात मात्र भए १ दिन, दुई दिन एक रात भए पक्षिणी मानिन्छ ।
नजिकका सम्बन्ध
व्रतबन्ध नगरी मरेका छोराको बाबु–आमालाई ३ रात । बाबु–आमाको मृत्युमा छोराले १० दिन जुठो बार्नुपर्छ । सासू–ससुराको ३ दिन, ज्वाइँले एक रात वा तीन दिन मानिन्छ ।
छोरी र विवाहित सम्बन्ध
विवाहित छोरी माइतमा मरे दाजुभाइलाई ३ दिन । पतिको घरमा मरे पक्षिणी । मृत्युको खबर १० दिनभित्र सुने ३ दिन र त्यसपछि सुने १ दिन मात्र ।
सपिण्डी र अन्य नातागोता
सपिण्डीभित्रका व्यक्तिको मृत्युमा उमेरअनुसार १ दिनदेखि १० दिनसम्म जुठो मानिन्छ । मामा–माइजु, काका, फूपू, भतिजा, सालासालीजस्ता टाढा सम्बन्धमा धेरैजसो स्नान मात्र पर्याप्त मानिन्छ
गुरुको मृत्युमा ३ दिन, मित्रको १ दिन र घरमा आएर नाता नपर्ने व्यक्तिको मृत्यु भए पनि १ दिन जुठो मान्ने चलन छ ।
जुठो–सुतकको सामाजिक सन्देश
आजको आधुनिक जीवनमा जुठो–सुतकलाई कतिपयले केवल धार्मिक कर्मकाण्डका रूपमा हेर्छन् । तर यसको मूल उद्देश्य शोकको समयमा परिवारलाई केही समय विश्राम दिनु, भीडभाड र अनावश्यक सामाजिक गतिविधिबाट टाढा राख्नु तथा मानसिक सन्तुलन कायम गर्नु हो ।
धार्मिक रूपमा हेर्दा यो आत्माको शान्ति र मोक्षसँग जोडिएको छ भने सामाजिक रूपमा हेर्दा अनुशासन, स्वच्छता र संवेदनशीलताको प्रतीक हो ।
जुठो–सुतक संस्कार हिन्दू समाजको दीर्घ परम्पराको हिस्सा हो । यसलाई अन्धविश्वासका रूपमा मात्र होइन, संस्कृति, अनुशासन र मानवीय संवेदनासँग जोडिएको अभ्यासका रूपमा बुझ्न आवश्यक छ । समय र परिस्थितिअनुसार व्यवहारिक लचकता अपनाउँदै यसको मर्म बुझेर पालना गर्नु नै आजको सन्दर्भमा उपयुक्त देखिन्छ ।


















Discussion about this post