सार्थक ब्यूरो । नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केही चर्चित पदाधिकारीहरू आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन अयोग्य भएका छन् । निर्वाचन आयोगले विगतको निर्वाचन खर्च विवरण नबुझाएको कारण देखाउँदै उनीहरूलाई कालोसूचीमा समावेश गरेको जनाएको छ ।
कालोसूचीमा पर्नेहरूमा कांग्रेस महामन्त्री गगनकुमार थापा, नेकपा एमालेका सचिवद्वय डा. राजन भट्टराई र शेरधन राई तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र रहेका छन् । आयोगका अनुसार कानुनी प्रावधानअनुसार तोकिएको समयमा खर्च विवरण नबुझाएका कारण उनीहरूलाई उम्मेदवार बन्न रोक लगाइएको हो ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–४ बाट कांग्रेसका तर्फबाट गगन थापा र एमालेका तर्फबाट डा. राजन भट्टराई प्रतिस्पर्धामा थिए, जहाँ थापाले भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । त्यसैगरी, शेरधन राई भोजपुर–१ बाट उम्मेदवार बनेका थिए भने उनी माओवादी केन्द्रका सुदन किराँतीसँग पराजित भएका थिए । रवीन्द्र मिश्र काठमाडौं–१ बाट चुनाव लडेका थिए र कांग्रेसका प्रकाशमान सिंहसँग हार व्यहोरेका थिए ।
निर्वाचन आयोगका अनुसार देशभरबाट कूल १ हजार ८० जना उम्मेदवारले खर्च विवरण नबुझाएको पाइएकाले उनीहरू सबैलाई कालोसूचीमा राखिएको छ । यद्यपि, सूचीमा परेका राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले भने आफूले खर्च विवरण समयमै बुझाइसकेको दाबी गर्दै सम्बन्धित कागजात सार्वजनिक गरेका छन् । सार्वजनिक कागजातमा निर्वाचन कार्यालयको दर्ता छाप, दर्ता नम्बर र मिति स्पष्ट देखिने र २०७९ मंसिर २० मै दर्ता भएको उल्लेख छ ।
कालोसूचीमा परेका अन्य चर्चित नेताहरूले यस विषयमा हालसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । कांग्रेस महामन्त्री थापाले भने यसअघि नै पार्टीभित्र महाधिवेशन र नेतृत्व परिवर्तन नभएसम्म आफू निर्वाचन नलड्ने अभिव्यक्ति दिँदै आएका छन् ।


















Discussion about this post