सार्थक डेस्क।बिपी कोइरालाको मेलमिलाप आज नेपाली राजनीतिमा सबैभन्दा धेरै उद्धृत तर सबैभन्दा कम आत्मसात् गरिएको दर्शन बनेको छ । नेताहरू भाषणमा बिपी सम्झिन्छन्, तर व्यवहारमा बिपीलाई भुल्छन् । यही विरोधाभासले आजको राजनीतिक यथार्थ उजागर गर्छ ।
भारतमा इन्दिरा गान्धीले आपतकाल घोषणा गरेपछि त्यहाँको राजनीति दमन, नियन्त्रण र डरको घेरामा थियो । त्यो वातावरण निर्वासनमा रहेका राजनीतिक व्यक्तित्वका लागि सहज थिएन । बिपी कोइराला पनि त्यसैको असरबाट पूर्ण रूपमा अछुतो थिएनन् । तर इतिहासले स्पष्ट गर्छ—बिपीलाई भारतले जबरजस्ती नेपाल पठाएको होइन । उनले स्वेच्छाले, राजनीतिक संवाद र सहअस्तित्वको बाटो रोज्दै नेपाल फर्कने निर्णय गरे । यो निर्णय कुनै कमजोरी होइन, राजनीतिक परिपक्वताको उच्चतम उदाहरण थियो ।
नेपाल फर्किएपछि क्यान्सरजस्तो गम्भीर रोगले बिपीलाई घे¥यो । यही बेला राजा वीरेन्द्रले उपचारका लागि अमेरिका जान अनुमति र सहयोग दिए । यो घटनाले बिपी–राजा सम्बन्धमा नयाँ संवाद र विश्वासको ढोका खोलेको देखिन्छ । बिपीले सत्ता होइन, संवाद रोजे । बदला होइन, सहअस्तित्व रोजे ।
हिंसाबाट परिवर्तन सम्भव छैन भन्ने दृढ विश्वास बिपीको राजनीतिक आत्मा थियो । त्यसैले मेलमिलाप उनको रणनीति मात्र होइन, दर्शन बन्यो । निर्वासनमा रहेका नेपालीलाई एकताबद्ध गर्न ‘जनसम्पर्क’ संस्था स्थापना गरिनु पनि यही सोचको परिणाम थियो । विदेशमा रहेका नेपालीलाई समेत राष्ट्रिय राजनीतिसँग जोड्ने दृष्टि त्यतिबेला असाधारण थियो ।
२०३७ सालको जनमत संग्रह बिपीको लोकतान्त्रिक आस्थाको अर्को प्रमाण हो । परिणाम कांग्रेसको पक्षमा नआउँदा पनि बिपीले जनताको निर्णयलाई शिरोधार्य गरे । उनले अस्वीकार गरेनन्, आन्दोलनको आगो बाल्न खोजेनन् । बरु जनमत नै लोकतन्त्रको मेरुदण्ड हो भन्ने सन्देश दिए ।
आजका कांग्रेस नेताहरू मेलमिलापको विरासत बोकेको दाबी गर्छन् । तर प्रश्न गम्भीर छ ,के उनीहरूले बिपीको मेलमिलाप आत्मसात् गरेका छन्, कि केवल प्रयोग गरेका छन् ? आजको राजनीति संवाद होइन, दम्भमा अडिएको छ । सहकार्य होइन, सत्ताको सौदाबाजी हावी छ । राष्ट्रिय मुद्दा होइन, व्यक्तिगत र दलगत स्वार्थ केन्द्रमा छन् ।
यही कारण आज बिपीको मेलमिलाप हिजोभन्दा धेरै सान्दर्भिक बनेको छ । बढ्दो ध्रुवीकरण, अविश्वास र असहिष्णुताले देशलाई कमजोर बनाइरहेको छ । यस्तो अवस्थामा मेलमिलाप कुनै विकल्प होइन, अपरिहार्यता हो ।
बिपीले देखाएको बाटो, संवाद, सहअस्तित्व र मेलमिलाप—आज पनि नेपालको राजनीतिक संस्कृतिको सबैभन्दा भरोसायोग्य मार्गदर्शक हो । प्रश्न केवल यत्ति होः के हामी बिपीलाई स्मरण मात्र गर्नेछौँ, कि अनुसरण पनि गर्ने साहस गर्नेछौँ ?


















Discussion about this post