जेनजी आन्दोलनपछि कांग्रेसभित्र चर्कियो बहस, रूपान्तरण कि आन्तरिक संकट ?

सार्थक ब्यूरो । जेनजी आन्दोलनपछि नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक तरंगले पार्टीलाई निर्णायक मोडमा पुर्‍याएको छ । यस आन्दोलनले केवल युवा असन्तुष्टि वा पुस्तान्तरणको बहसभन्दा बाहिर गएर पार्टीको संगठन, नेतृत्व पद्धति, निर्णय प्रक्रिया र भावी राजनीतिक यात्रामाथि प्रश्न उठाइरहेको देखिन्छ ।
नियमित महाधिवेशन समयमै हुन नसकेको अवस्था र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि अधिवेशन नगर्ने संस्थापन पक्षको धारणा तथा त्यसविरुद्ध महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको मागले कांग्रेसभित्र मतभेद तीव्र बनेको हो ।
पार्टीभित्र जेनजी आन्दोलनलाई केहीले सामाजिक सञ्जाल केन्द्रित युवाको भावनात्मक अभिव्यक्ति मात्र ठाने पनि यसको प्रभाव संगठनको कार्यशैली, निर्णय प्रक्रिया र नेतृत्वको निरन्तरतामाथिको असन्तुष्टिका रूपमा देखिन थालेको छ । पछिल्लो समय ‘पार्टी युवामैत्री हुनुपर्छ’, ‘निर्णयमा पारदर्शिता आवश्यक छ’ र ‘नेतृत्व उत्तरदायी हुनुपर्छ’ भन्ने आवाज पार्टीका विभिन्न तहबाट उठ्न थालेका छन् ।
यही सन्दर्भमा महामन्त्रीद्वयले पार्टीलाई संरचनागत रूपमा रूपान्तरण गर्नुपर्ने बहसलाई संस्थागत बनाउन खोजिरहेका छन् । तर उक्त प्रस्तावलाई संस्थापन पक्षले अस्वीकार गरिरहेको देखिन्छ । पार्टी सभापति शेरबहादुर देउवाले कार्यकारी जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएको औपचारिक घोषणा भए पनि व्यवहारिक रूपमा निर्णय प्रक्रिया अझै सभापतिकै वरिपरि केन्द्रित रहेको आरोप पार्टीभित्र उठ्न थालेको छ ।
कार्यवाहक सभापतिको भूमिकामाथि स्पष्ट प्रभाव नदेखिँदा कांग्रेसको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको टिप्पणी पनि हुन थालेका छन् । यही कारण ‘पर्दा पछाडिबाट सभापतिले नै पार्टी चलाइरहेका छन्’ भन्ने चर्चा पार्टी वृत्तमा व्यापक छ ।
महामन्त्रीद्वयले अघि सारेको विशेष महाधिवेशनको प्रस्ताव हाल कांग्रेसभित्र सबैभन्दा विवादित विषय बनेको छ । उनीहरू नियमित महाधिवेशन ढिलाइ भएको, संगठन कमजोर बन्दै गएको र नयाँ पुस्ताको अपेक्षा सम्बोधन गर्न संरचनागत सुधार अपरिहार्य भएको तर्क गर्दै आएका छन् । तर संस्थापन पक्ष भने निर्वाचनको मुखमा ठूलो संगठनात्मक परिवर्तनले पार्टीलाई थप कमजोर बनाउन सक्ने भन्दै उक्त प्रस्तावलाई जोखिमपूर्ण ठानिरहेको छ ।
यसबीच, संस्थापन इतर धारका रूपमा परिचित डा. शेखर कोइराला समूहको भूमिका स्पष्ट देखिएको छैन । वैचारिक रूपमा सुधारको पक्षमा देखिए पनि विशेष महाधिवेशनको सवालमा उनीहरूले न त खुला समर्थन गरेका छन् न त स्पष्ट विरोध नै । विश्लेषकहरूका अनुसार यो समूह प्रतीक्षात्मक रणनीतिमा रहेको देखिन्छ, जसका कारण पार्टीभित्रको विपक्षी धार कमजोर बनेको आकलन गरिएको छ ।
इतिहासमा नेपाली कांग्रेस विभिन्न कालखण्डमा विभाजन भोगेको पार्टी हो । तर अहिलेको अवस्था प्रत्यक्ष फुटभन्दा पनि आन्तरिक कमजोरिकरणको खतरातर्फ उन्मुख भएको विश्लेषण भइरहेको छ । स्पष्ट निर्णय, विधिसम्मत प्रक्रिया र एकीकृत रणनीतिको अभावले पार्टी क्रमशः क्षयीकरणतर्फ जान सक्ने चिन्ता व्यक्त गरिँदै आएको छ ।
यदि पार्टी नेतृत्वले महामन्त्रीद्वयको आवाज, युवापुस्ताको असन्तुष्टि र सुधारको मागलाई बेवास्ता गरिरहेमा त्यसको असर चुनावी निष्क्रियता, गुटगत असहयोग र मतदाता विचलनका रूपमा देखिन सक्ने अनुमान गरिएको छ । आगामी प्रतिनिधिसभा निर्वाचन कांग्रेसका लागि निर्णायक हुने भएकाले आन्तरिक अस्थिरताले चुनावी परिणाममा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना पनि औँल्याइएको छ ।
विशेष महाधिवेशन बोलाउने अधिकारसम्बन्धी विवादले पनि पार्टीभित्रको राजनीतिक संघर्षलाई जटिल बनाएको छ । सुधार पक्षले विधानअनुसार तोकिएको प्रक्रिया पूरा भए विशेष अधिवेशन सम्भव हुने दाबी गरिरहेका छन् भने संस्थापन पक्षले त्यसलाई विधानको गलत व्याख्या भन्दै अस्वीकार गर्दै आएको छ ।
कांग्रेस अहिले यथास्थिति कायम राख्ने, सीमित सुधारमार्फत असन्तुष्टि व्यवस्थापन गर्ने वा संरचनागत रूपान्तरणतर्फ जाने—तीन विकल्पको दोबाटोमा उभिएको देखिन्छ । पार्टीले कुन बाटो रोज्छ भन्ने कुराले केवल कांग्रेसको मात्र होइन, समग्र नेपाली राजनीतिको दिशामा समेत प्रभाव पार्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित