सार्थक डेस्क। धनगढी उपमहानगरपालिकाले दोस्रो संस्करणको सीप तथा रोजगार मेला २०८२ को आयोजना गरेको छ। सोमबार धनगढीको खुला मञ्चमा आयोजित विशेष कार्यक्रममा संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारीले मेलाको औपचारिक उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले भौतिक पूर्वाधारसँगै मानव विकासमा ध्यान दिनु धनगढी उपमहानगरपालिकाको सकारात्मक अभ्यास भएको उल्लेख गरे। जेन्जी आन्दोलनपछि सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै संघीय मन्त्रिपरिषद्मा पुगेका उनले स्थानीय तहले सीप र रोजगारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले पछिल्ला वर्षहरूमा विकास तराई केन्द्रित हुँदा पहाडी क्षेत्र रित्तिँदै गएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर तराईमै सीमित हुँदा पहाडबाट बसाइँसराइ बढेको बताए। “अब विकास पहाड उक्लिनुपर्छ, त्यसका लागि हरेक पालिकाले धनगढीले जस्तै सीप तथा रोजगार मेला सञ्चालन गर्नुपर्छ,” मन्त्री भण्डारीले भने।
संघीय सरकारले लामो समयसम्म सुदूरपश्चिमलाई प्राथमिकतामा नराख्दा यो प्रदेश अन्य प्रदेशको तुलनामा गरिब बन्न पुगेको उनको भनाइ थियो। समानुपातिक विकास नहुँदा सम्भावना हुँदाहुँदै पनि सुदूरपश्चिम पछाडि परेको उनले बताए।
गत वर्ष प्रदेशका ३९ स्थानीय तहका १ हजार ४० जना युवालाई सीप तथा रोजगार मेलामार्फत तालिम दिइएको थियो। यस वर्ष दोस्रो संस्करणमार्फत ६ सय जनालाई सीपमूलक तालिम दिने लक्ष्यसहित मेला आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका अनुसार ३० दिनसम्म सञ्चालन हुने मेलामा अटोमोबाइल, निर्माण, आतिथ्य तथा सत्कार, इलेक्ट्रिकल तथा मेकानिकल, सूचना प्रविधि, शैक्षिक तथा सेवा क्षेत्र, आर्ट क्राफ्ट र डिजाइनिङसहित २२ प्रकारका तालिम प्रदान गरिनेछ।
यस पटक सुदूरपश्चिमका नौ वटै जिल्लाबाट ६ सय जना युवालाई मात्रै तालिममा सहभागी गराइने छ। हरेक विधामा २५ जनाको दरले प्रशिक्षार्थी छनोट गरिएको छ। रोजगारीको खोजीमा सीप नलिई भारत र तेस्रो मुलुक जाने युवाको संख्या बढ्दो अवस्थामा रहेकाले मेला विशेष गरी युवालाई लक्षित गरिएको उपमहानगरले जनाएको छ।
प्रदेशको राजधानीसमेत रहेको धनगढीले यस वर्ष प्रदेशभरिका ५१ पालिकाका प्रमुख तथा उपप्रमुखलाई सहभागी गराई सामूहिक रूपमा सीपमूलक तालिम विस्तारमा अग्रसरता लिएको छ। उद्घाटन कार्यक्रममा सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ५१ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बझाङको जयपृथ्वीबहादुर नगरपालिकाका मेयर चेतराज बजाल र डडेल्धुराको अजयमेरु गाउँपालिकाका प्रमुख उमेश भट्टले रोजगार मेला युवाका लागि महत्वपूर्ण अवसर भएको बताए।
उपमहानगरपालिकाका अनुसार ३० दिने तालिमपछि फागुन ६ देखि १० गतेसम्म स्वरोजगार र उद्यमशीलता विकाससम्बन्धी तालिम सञ्चालन गरिनेछ। त्यसपछि फागुन ११ र १२ गते रोजगारदाता र प्रशिक्षार्थीबीच प्रत्यक्ष रोजगार मेला पनि आयोजना गरिनेछ।


















Discussion about this post