लाजहीन महत्वाकांक्षा

हरि प्रसाद जोशी

लोकतन्त्रको अन्तिम फैसला अदालत, संसद् वा दलका बैठकले होइन,मतपेटिकामा तपाईंले गर्ने निर्णयले गर्छ। आज तपाईंले पाँच वर्षका लागि दिएको जनाधिकार पूरा नगरी पद छाड्नेहरू फेरि तपाईंको ढोका ढकढक्याइरहेका छन्। “देश बनाउँछौँ”, “व्यवस्था जोगाउँछौँ” भन्ने भाषण फेरि उस्तै छन्। तर मतदाताले सोध्नुपर्ने एउटै प्रश्न छ—तपाईंले दिएको जिम्मेवारी किन अधुरै छाड्नुभयो ?
राष्ट्रिय सभा सदस्य, महानगरका मेयर, उपमहानगर प्रमुख, प्रदेश सभा सदस्य,यी कुनै साना पद होइनन्। यी जनताको सार्वभौम मतबाट बनेका संवैधानिक जिम्मेवारी हुन्। तर ती जिम्मेवारीलाई बीचमै फालेर अर्को पदको लोभमा दौडिनु जनताको मतमाथि थुकेको थुक हो। संविधानले राजीनामा दिन मिल्छ भनेको छ, तर धोका दिन अनुमति दिएको छैन। पाँच वर्षको म्यान्डेट पूरा नगरी भाग्नेहरू कानुनी रूपमा उम्किन सक्छन्, तर नैतिक रूपमा पूर्ण असफल हुन्छन्।
अब सोचौँ, यदि एक जनप्रतिनिधिले आफ्नो जिम्मेवारी बीचमै छाड्न सक्छ भने, उसले भोलि तपाईंको समस्या, तपाईंको गाउँ, तपाईंको शहर किन पूरा गर्थ्यो? यस्ता पात्रलाई फेरि भोट दिनु भनेको उनीहरूलाई सन्देश दिनु हो, “हामीलाई धोका देऊ, हामी फेरि पनि माफ गर्छौँ।” यही मानसिकताले राजनीतिमा दण्डहीनता जन्माएको छ। यही कारण आज नेताहरू निर्लज्ज भएका छन्। यही कारण लोकतन्त्र कमजोर बन्दै गएको छ।
अब ‘फलानो पार्टी’, ‘फलानो नेता’ भन्ने समय सकियो। अब प्रश्न व्यक्ति र चरित्रको हो। पाँच वर्षको जिम्मेवारी पूरा नगर्नेले अर्को जिम्मेवारी माग्ने नैतिक अधिकार गुमाइसकेको हुन्छ। यदि आज पनि आँखा चिम्लेर भोट हाल्नुभयो भने भोलि गुनासो गर्ने अधिकार पनि गुमाउनुहुनेछ। किनकि लोकतन्त्रमा सबैभन्दा ठूलो अपराध बिना प्रश्न गरिएको भोट हो।
आजको सन्दर्भ अझ गम्भीर छ। जनताबाट निर्वाचित प्रतिनिधिसभा बलपूर्वक असंवैधानिक ढंगबाट विघटन गरियो। यस्तो कदमविरुद्ध उभिनुपर्ने बेला चुनाव हुँदैछ। त्यसैले मतदाता सजग र सचेत हुनैपर्छ। यहाँ भावनाले होइन, हिसाबले भोट हाल्नुपर्छ।
अब निर्णय तपाईंको हातमा छ,भोट दिने कि दण्ड दिने ?ठगिने कि हिसाब माग्ने ?लोकतन्त्र बचाउने कि अधुरो राजनीतिलाई निरन्तरता दिने ?
यो चुनाव तपाईंको हो। फैसला पनि तपाईंको हो। मतदान गर्ने अधिकार तपाईंको हो। मतदान गर्ने बेला नसोची, पछि पछुताउनुको कुनै अर्थ हुँदैन। प्राप्त जिम्मेवारी पूरा नगर्ने व्यक्तिलाई भोट दिनु अपराध हो। जानी–जानी अपराध गर्न हुँदैन। पछि “मैले जानिन” भन्न पाइँदैन।
आज एक सचेत भोटले मात्र भोलिको लोकतन्त्र जोगिन सक्छ।प्रश्न गर्नुस्, हिसाब माग्नुस्, र आवश्यक परे दण्ड दिनुस्।लोकतन्त्र त्यहीँबाट सुरु हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित