कञ्चनपुरमा निर्वाचन प्रक्रिया अगाडि बढ्दा चुनावी गतिविधिमा आर्थिक चलायमानता

सार्थक ब्यूरो ।कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले शुक्रबार आ–आफ्ना निर्वाचन चिह्न प्राप्त गरेका छन्। अन्तिम नामावली सार्वजनिक भएसँगै निर्वाचन अधिकृतको कार्यालयमार्फत चिह्न वितरण गरिएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार अन्तिम सूचीमा नाम समावेश भएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ। यससँगै जिल्लामा निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरु भई चुनावी गतिविधिले तीव्रता लिएको छ, जसले स्थानीय बजार र सेवाक्षेत्रमा समेत चहलपहल बढाएको छ।
जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरी कुल ५५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये ४४ जना विभिन्न राजनीतिक दलका उम्मेदवार हुन् भने ११ जना स्वतन्त्रतर्फबाट मैदानमा उत्रिएका छन्। उम्मेदवारी फिर्ता नपरेपछि सबै उम्मेदवारबीच प्रतिस्पर्धा यथावत् रहेको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन क्षेत्र नम्बर १ मा १५ दल र चार स्वतन्त्र गरी १९ जना उम्मेदवार रहेका छन्। यहाँ स्वतन्त्र उम्मेदवारलाई क्यामेरा, चेसगोटी, तिलहरी र झोला जस्ता चिह्न प्रदान गरिएको छ।
निर्वाचन क्षेत्र नम्बर २ मा पनि १९ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारले भँगेरा, कैँची, सिरिन्ज र आँप निर्वाचन चिह्न पाएका छन्।
यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ मा १७ जनाको उम्मेदवारी कायम छ, जहाँ तीन जना स्वतन्त्र उम्मेदवारलाई डस्टबिन, आँप र जीप चिह्न प्रदान गरिएको छ।
निर्वाचन चिह्न सुनिश्चित भएसँगै उम्मेदवारहरू घरदैलो अभियान, चुनावी भेटघाट र प्रचार सामग्री उत्पादनमा सक्रिय बनेका छन्। यसले छपाइ, यातायात, होटल तथा स्थानीय श्रम बजारमा समेत आर्थिक गतिविधि बढाएको स्थानीय व्यवसायीको भनाइ छ। निर्वाचन नजिकिँदै जाँदा कञ्चनपुरमा चुनावसँग जोडिएका कारोबार थप चलायमान हुने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित