सार्थक ब्यूरो ।जाडोयाममा दैनिकी चलाउन वन पैदावारमा आश्रित स्थानीय बासिन्दालाई केही राहत दिने उद्देश्यका साथ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट खरखडाइ सङ्कलन खुला गरिने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार निकुञ्ज आसपास बसोबास गर्ने समुदायका लागि यही माघ २२ गतेदेखि खरखडाइ सङ्कलनको व्यवस्था मिलाइएको हो।
निकुञ्ज प्रशासनले खरखडाइ सङ्कलन गर्न चाहने व्यक्तिलाई माघ १९ देखि २१ गतेसम्म सम्बन्धित कार्यालय तथा रेन्ज पोस्टबाट अनुमति पुर्जी लिन आग्रह गरेको छ। निकुञ्ज कार्यालयद्वारा जारी सूचनाअनुसार मूल गेटसहित पिपरैया, दोधारा–चाँदनी, हात्तीथला, तारापुर, ढक्का र बेलडाँडी रेन्ज पोस्टमार्फत पुर्जी वितरण गरिनेछ।
खरखडाइ सङ्कलनका लागि प्रति व्यक्ति ५० रुपैयाँ दस्तुर तोकिएको छ। सूचना अधिकारी पुरुषोत्तम वाग्लेले माघ २२ र २३ गते दुई दिनका लागि दोधारा चाँदनी, भीमदत्त, शुक्लाफाँटा, बेदकोट नगरपालिका तथा बेलडाँडी र लालझाँडी गाउँपालिकाअन्तर्गतका ५२ घाटबाट नियन्त्रित रूपमा प्रवेश खुला गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार विभिन्न उपभोक्ता समितिअन्तर्गत तोकिएका घाटमार्फत मात्रै खरखडाइ सङ्कलन गर्न पाइनेछ। यसले स्थानीय बासिन्दालाई आवश्यक खर, बनकस र नर्कट सङ्कलनको अवसर दिने विश्वास निकुञ्ज प्रशासनले व्यक्त गरेको छ।
यसैबीच, सङ्कलनका क्रममा वन्यजन्तुबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै समूहमा मात्र हिँड्न, तोकिएका वन पैदावारबाहेक अन्य काठदाउरा वा सामग्री सङ्कलन नगर्न निकुञ्ज कार्यालयले आग्रह गरेको छ। साथै, वन्यजन्तुका अंग, आखेटोपहार वा प्रतिबन्धित वस्तु बोकेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।
खरखडाइ सङ्कलन अवधिभर माघ २२ र २३ गते निकुञ्ज क्षेत्रभित्रका सम्पूर्ण पर्यटकीय गतिविधि बन्द रहने जनाइएको छ। संरक्षण र मानव जीवनबीच सन्तुलन कायम गर्दै स्थानीय समुदायको दैनिकीमा सहयोग पुर्याउने उद्देश्यसहित गरिएको यो व्यवस्थालाई निकुञ्ज प्रशासनले दुवै पक्षका लागि जिम्मेवार सहभागिताको अभ्यासका रूपमा लिएको जनाएको छ।


















Discussion about this post