सङ्घर्षबाट नेतृत्वसम्म: पृथ्वीसुब्बा गुरुङको राजनीतिक यात्रा

सार्थक ब्यूरो। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा लमजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ नेपाली राजनीतिमा सङ्घर्ष, निष्ठा र जनसेवाका पर्यायका रूपमा चिनिँदै आएका छन्। पाँच दशकभन्दा लामो राजनीतिक अनुभव बोकेका गुरुङ सत्तामा रहँदा पनि स्वच्छ छवि कायम राख्ने नेताका रूपमा परिचित छन्।
वि.सं. २०१४ फागुन २ गते लमजुङको क्होलासोथर गाउँपालिका–९ टक्सारमा जन्मिएका गुरुङको बाल्यकाल सहज थिएन। भारतीय लाहुरे परिवारमा जन्मिएका उहाँले अध्ययनका लागि कक्षा ५ देखि नै दैनिक चार घण्टा पैदल हिँडेर भोर्लेटार पुग्नुपर्ने बाध्यता झेले। यही कठिन यात्राले उहाँको व्यक्तित्व निर्माणमा गहिरो प्रभाव पारेको देखिन्छ।
गुरुङको राजनीतिक यात्रा २०२७ सालमा भोर्लेटारस्थित इशानेश्वर प्रमोद हाईस्कुलमा अध्ययनरत रहँदा अनेरास्ववियुको सचिवबाट सुरु भएको हो। अमृत साइन्स क्याम्पसमा विज्ञान विषय अध्ययन गर्दै गर्दा उहाँ अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशनको सम्पर्कमा आउनुभयो। २०३५ सालमा नेकपा (माले) मा संगठित भई २०३७ सालमा पार्टी सदस्यता प्राप्त गर्नुभएका गुरुङ क्रमशः जिल्ला, अञ्चल र केन्द्र हुँदै पार्टी नेतृत्वको उच्च तहमा पुग्नुभयो।
उहाँ २०४८ र २०५१ सालमा नेकपा (माले) को जिल्ला कमिटी सचिव, गण्डकी अञ्चल समन्वय कमिटी सचिव, केन्द्रीय कमिटी सदस्य, पोलिटब्युरो सदस्य हुँदै हाल एमालेको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ।
शिक्षक पेसामा रहँदै शिक्षक आन्दोलनको नेतृत्व गरेका गुरुङ पटक–पटक हिरासतमा परे। पञ्चायतकालमा किसान, श्रमिक र शिक्षकका पक्षमा भएका आन्दोलनहरूमा उहाँको सक्रिय भूमिका रह्यो। २०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को ऐतिहासिक जनआन्दोलनसम्म उहाँ केन्द्रीय तहबाट सक्रिय रहनुभयो। संविधानसभा सदस्यका रूपमा आदिवासी जनजाति, सीमान्तकृत र पिछडिएका समुदायका अधिकार सुनिश्चित गर्न उहाँले खेलेको भूमिका उल्लेखनीय मानिन्छ।
गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री रहनुभएको छ। गण्डकी प्रदेशको मुख्यमन्त्रीका रूपमा शून्य अवस्थाबाट प्रदेश सरकार सञ्चालनको आधार तयार पार्नु उहाँको महत्वपूर्ण उपलब्धि मानिन्छ। सीमित कार्यकाल हुँदाहुँदै पनि उहाँले अघि सारेका संरचना र योजनाले प्रदेशलाई सबल बनाएको नेताहरू बताउँछन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रूपमा उहाँले डिजिटल नेपाल फ्रेमवर्क, साइबर सुरक्षा, सूचना प्रविधि नीति तथा नेपाली आईटी कम्पनीलाई विदेशमा काम गर्न कानुनी व्यवस्था मिलाउने पहल गर्नुभएको थियो। यसले नेपाली प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्‍याएको मानिन्छ।
चुनाव जित्दा वा हार्दा, गुरुङ सधैं लमजुङमै बसेर जनताको सेवा गर्ने नेताका रूपमा चिनिन्छन्। बिरामीको उपचारदेखि वैदेशिक रोजगारीमा ठगिएकालाई न्याय दिलाउन पहल गर्ने, बेरोजगार युवाका लागि रोजगारी खोज्ने, खेलकुद र शिक्षा क्षेत्रमा सहयोग गर्ने कार्यमा उहाँ सक्रिय रहनुहुन्छ।
विज्ञान स्नातक (बी.एस्सी.) प्रथम श्रेणी उत्तीर्ण गुरुङ गुरुङ, नेपाली र अङ्ग्रेजी भाषामा दख्खल राख्नुहुन्छ। सामुदायिक विद्यालय सुधार, छात्रवृत्ति कार्यक्रम, लोपोन्मुख कला–संस्कृतिको संरक्षण, खेलकुद प्रवर्द्धन र युवालाई सकारात्मक दिशामा अघि बढाउने अभियानमा उहाँ निरन्तर सक्रिय हुनुहुन्छ।
गुरुङका अनुसार राजनीति सत्ता प्राप्तिको साधन होइन, जनताको सेवाको माध्यम हो। सङ्घीयता, सामाजिक न्याय, रोजगारी सिर्जना र समावेशी विकासमार्फत समृद्ध नेपाल निर्माण गर्नु नै आफ्नो जीवनको लक्ष्य रहेको उहाँ बताउनुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित