मौन अवधि सुरु : अब के–के गतिविधि निषेध ?

सार्थक व्युरो ।प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि मौन अवधि लागू भएको छ। बिहीबार हुने मतदानलाई लक्षित गर्दै गएरातिदेखि मौन अवधि प्रारम्भ भएको हो। **निर्वाचन आयोग**का अनुसार मतदान सम्पन्न नभएसम्म यो अवधि कायम रहनेछ।
आयोगले तोकेको समयसीमाअनुसार राजनीतिक दल र उम्मेदवारलाई फागुन ४ गतेदेखि सोमबार मध्यरातसम्म मात्र प्रचारप्रसार गर्न अनुमति दिइएको थियो। अब भने कुनै पनि प्रकारको चुनावी गतिविधि गर्न पाइँदैन।
मौन अवधिमा सभा, जुलुस, कोणसभा, भाषण, छलफल, अन्तरक्रिया, गोष्ठी, कार्यशाला लगायत निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि कार्यक्रम गर्न पाइँदैन। सामाजिक सञ्जाल, अनलाइन पोर्टल, छापा माध्यम वा अन्य कुनै प्लेटफर्ममार्फत् उम्मेदवार वा दलको पक्ष–विपक्षमा सन्देश पोस्ट, सेयर वा प्रचार गर्न समेत निषेध गरिएको छ।
त्यसैगरी बाजागाजा बजाउने, नाचगान, सार्वजनिक भोजभतेर, जुलुस प्रदर्शन, हुलहुज्जत वा होहल्ला गर्न पनि रोक लगाइएको छ। मतदान सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान समाप्त नहुँदासम्म मतदान केन्द्र, मतदाता वा खटिएका कर्मचारीलाई अवरोध पुग्ने कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ। मतदानस्थल वरपर त्रास सिर्जना गर्ने वा शान्ति भंग गर्ने कार्यमा समेत कडाइ गरिनेछ।
आयोगले निर्वाचन प्रभावित पार्ने कार्यमा ‘शून्य सहनशीलता’ अपनाइने स्पष्ट पारेको छ। मौन अवधिको उद्देश्य मतदातालाई शान्त वातावरणमा स्वतन्त्र र विवेकपूर्ण ढंगले निर्णय गर्ने अवसर उपलब्ध गराउनु हो। प्रचारको चापबाट अलग भई मतदाताले उम्मेदवारका कार्यक्रम र दृष्टिकोणबारे सोचविचार गर्न पाउने विश्वास लिइएको छ।
यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ ६५ राजनीतिक दल ६१ चुनाव चिह्नसहित प्रतिस्पर्धामा छन्। प्रत्यक्ष प्रणालीअन्तर्गत ३,४०६ उम्मेदवार मैदानमा छन् भने समानुपातिकतर्फ ३,१३५ जनाको प्रतिस्पर्धा रहेको छ। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान हुनेछ।
कुल मतदाता सङ्ख्या एक करोड ८९ लाखभन्दा बढी रहेको छ, जसमा अस्थायी मतदाता पनि समावेश छन्। देशभर १० हजारभन्दा बढी मतदान स्थल र २३ हजारभन्दा बढी मतदान केन्द्र निर्धारण गरिएका छन्। सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरीसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। करिब दुई लाख १५ हजार कर्मचारी निर्वाचन व्यवस्थापनमा खटिनेछन्।
निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने अन्तर्राष्ट्रिय र राष्ट्रिय पर्यवेक्षक संस्थाहरूले पनि अनुगमन गर्ने तयारी गरेका छन्।
मौन अवधिलाई स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारका रूपमा लिइएको छ। यस अवधिमा सबै पक्षले संयमता अपनाएमा लोकतान्त्रिक अभ्यास थप सुदृढ हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित