सार्थक व्युरो ।कञ्चनपुरमा ७५ वर्षीया आमाको हत्या आरोपमा पक्राउ परेका ५५ वर्षीय हरिप्रसाद श्रेष्ठमाथि अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ। जिल्ला अदालतबाट म्याद थप भएपछि घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
दोधारा चाँदनी नगरपालिका–४, माननिय चोकमा छुट्टै घरमा छोरीसँग बस्दै आएकी ७५ वर्षीया बिन्द्राको हत्या भएको घटनामा श्रेष्ठमाथि अनुसन्धान भइरहेको हो। उक्त घटनामा उनकी ५० वर्षीया छोरी भगवती देवी माझी घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार घटनापछि श्रेष्ठ फरार भएका थिए। मृतककी नातिनी सारिका कुमारी मालीले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई दोस्रो दिन राति नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत दोधारा चाँदनी नगरपालिका–८, सुन्दरनगर टोलबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठविरुद्ध जिल्ला अदालत कञ्चनपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। घटनास्थलबाट धारिलो हतियार बरामद गरिएको र प्रत्यक्षदर्शीसँग सोधपुछ तथा आरोपितको बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ।
मृतकको शव आफन्तले बुझेका छन् भने घाइते भगवती देवी माझीको भारतको भोजीपुरामा उपचार भइरहेको छ।
यस घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक कृष्ण सोनीलाई अनुसन्धान अधिकृत तोकिएको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिएका छन्।


















Discussion about this post