सार्थक व्युरो ।कैलालीमा भूमिगत पानीका स्रोतहरू क्रमशः सुक्न थालेपछि खानेपानीको समस्या देखिन थालेको छ। पानीका मूल स्रोत नै घट्दै जाँदा विभिन्न बस्तीमा शुद्ध पानीको अभाव बढ्न थालेको स्थानीयले बताएका छन्।
गौरीगङ्गा नगरपालिका–झन्झटपुरकी जमुना चौधरीका अनुसार पछिल्लो समय अटिजन बोरिङ र धारा सुक्दै गएपछि दैनिक उपभोगका लागि आवश्यक पानी जुटाउन कठिनाइ भइरहेको छ। झन्झटपुर, चमरैया लगायतका क्षेत्रमा पानीको मात्रा घट्दै गएको उनले उल्लेख गरिन्। “अहिलेसम्म खासै कडा सुक्खा नपरे पनि धेरै ठाउँमा पानी कम आउन थालेको छ,” उनले भनिन्।
सामान्यतया तराई क्षेत्रमा जेठ र असार महिनामा भूमिगत पानीको सतह घट्ने प्रवृत्ति रहँदै आएको छ। यस अवधिमा किसानहरूले बोरिङमार्फत सिंचाइ गर्न थालेपछि जलस्रोतमा थप दबाब पर्ने गर्दछ। तर यस वर्ष भने खेतीपाती सुरु नहुँदै पानीको अभाव देखिनु चिन्ताजनक भएको स्थानीयको भनाइ छ।
विज्ञहरूका अनुसार चुरे क्षेत्रमा बढ्दो दोहन यस समस्याको मुख्य कारण हो। जथाभाबी सडक निर्माणका लागि डोजर प्रयोग, ढुङ्गा, गिट्टी र बालुवाको अनियन्त्रित उत्खननले प्राकृतिक सन्तुलन बिगारिरहेको छ। यसले भूमिगत पानीको पुनर्भरण प्रक्रियामा असर पारेर जलस्तर घटाउन भूमिका खेलेको बताइन्छ।
कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा. लोकबहादुर विष्टले चुरे क्षेत्रको विनाशले समग्र पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव परेको उल्लेख गरे। उनका अनुसार चुरे दोहनकै कारण जलस्तर घट्दै गएको र पानीका स्रोतहरू सुक्ने अवस्था सिर्जना भइरहेको छ। उनले समयमै सचेत नभए समस्या झन् जटिल बन्न सक्ने चेतावनी दिएका छन्।


















Discussion about this post