निःशुल्क आँखा शिविरबाट बैतडीमा सयौँ नागरिक लाभान्वित

सार्थक व्युरो ।बैतडीको पुर्चौडी नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविरबाट ज्येष्ठ नागरिकसहित ठूलो सङ्ख्यामा स्थानीयवासी लाभान्वित भएका छन्। ग्रामीण क्षेत्रका उपचार सेवा पहुँचबाहिर रहेका बिरामीलाई लक्षित गर्दै आयोजना गरिएको शिविरमा १२२ जनाको सफल आँखा शल्यक्रिया गरिएको छ।
दुई दिनसम्म चलेको उक्त शिविरमा आँखा परीक्षण, औषधि वितरण, चस्मा उपलब्ध गराउने तथा आवश्यक परेकाहरूको शल्यक्रियासम्मका सेवा प्रदान गरिएको थियो। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरका अनुसार २३० जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने ४३५ जनालाई औषधि उपलब्ध गराइएको छ।
नगरपालिकाका अनुसार शिविरबाट सात सयभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। ग्रामीण भेगका नागरिकले समयमै आँखा उपचार सेवा नपाउने अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा आएका अधिकांश बिरामीमा उमेरसँग सम्बन्धित दृष्टि समस्या देखिएको थियो।
घरनजिकै विशेषज्ञ सेवा पाउँदा स्थानीयवासी, विशेषगरी वृद्धवृद्धा, निकै उत्साहित भएका छन्। पुर्चौडी–८ की झिमा बोहोराले शिविरबाट उपचार पाएपछि आफ्नो दृष्टिमा सुधार आएको बताउनुभयो।
पुर्चौडी नगरपालिका र च्यारिटी हेल्थ फाउन्डेसनको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरमा धनगढी नेत्रालयले प्राविधिक सहयोग गरेको नेत्रालयका प्रमुख गजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो। शिविरअघि वडास्तरमै प्रारम्भिक परीक्षण गरेर शल्यक्रिया आवश्यक परेका बिरामी पहिचान गरी शिविरमा ल्याइएको नगरप्रमुख दीपकबहादुर बमले बताउनुभयो।
यस प्रक्रियाले सेवा प्रभावकारी ढङ्गले लक्षित समुदायसम्म पुर्‍याउन सहयोग पुगेको नगरप्रमुख बमको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित