सार्थक व्युरो ।कैलाली जिल्लामा गरिएको पछिल्लो माटो परीक्षणले कृषि उत्पादनमा गम्भीर चुनौती देखिएको छ। परीक्षणका क्रममा माटोमा नुन (छारेपन) को मात्रा अत्यधिक रहेको र आवश्यक पोषक तत्व—नाइट्रोजन, फस्फोरस तथा पोटास—को अभाव देखिएको पाइएको छ।
सामुदायिक सहकारी संस्था सत्तीको आयोजनामा, सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालय र माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको प्राविधिक सहयोगमा टीकापुरको सत्ती र भजनी क्षेत्रमा माटो परीक्षण गरिएको हो। बाली लगाउनुअघि माटोको अवस्थाबारे जानकारी दिने उद्देश्यले शनिबार र आइतबार गरिएको परीक्षणमा सत्तीका ९१ र भजनीका ३० किसान सहभागी भएका थिए।
सहकारीका सचिव कृत ठकुल्लाका अनुसार, वातावरण तथा मानव स्वास्थ्यसँग जोडिएको माटोको गुणस्तर जोगाउने र किसानलाई सचेत बनाउने उद्देश्यले परीक्षण गरिएको हो। परीक्षणपछि प्राप्त नतिजाले भने माटोको अवस्था चिन्ताजनक रहेको देखाएको छ।
माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुर, कञ्चनपुरका सहायक माटो विज्ञान अधिकृत हमप्रसाद न्यूरेले परीक्षण गरिएका सबै १२१ नमूनामा गुणस्तर खस्किएको र छारेपन उच्च रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, आवश्यक पोषक तत्वको कमीले उत्पादनमा निरन्तर गिरावट आइरहेको छ।
न्यूरेले चेतावनी दिँदै हालको अवस्था यथावत् रहेमा आगामी १० वर्षभित्र उक्त माटोबाट उत्पादन लिन नसकिने अवस्था आउन सक्ने बताउनुभयो। उहाँले अब परीक्षण मात्र नभई माटो सुधारका कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने सुझाव पनि दिनुभयो। विशेषगरी हरियो मल (ढैँचा खेती) विस्तार, प्राङ्गारिक मलको प्रयोग वृद्धि र गोबर मलको अभावलाई वैकल्पिक उपायमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो।
प्रयोगशालाले सुदूरपश्चिमका विभिन्न जिल्लामा कृषि ज्ञान केन्द्र, स्थानीय तह र सहकारीसँग सहकार्य गर्दै वार्षिक पाँच हजारभन्दा बढी नमूना परीक्षण गर्दै आएको जनाएको छ। किसानले व्यक्तिगत रूपमा नमूना ल्याउँदा प्रति नमूना १०० रुपैयाँ, विद्यार्थीका लागि २०० रुपैयाँ र संस्थागत परीक्षणका लागि ४०० रुपैयाँ शुल्क लिने व्यवस्था रहेको छ।
परीक्षणपछि किसानलाई माटो स्वस्थता प्रमाणपत्र (सॉइल हेल्थ कार्ड) प्रदान गरिएको छ, जसमा माटोको पीएच मान, प्राङ्गारिक पदार्थ, पोषक तत्वको अवस्था तथा बनोटसम्बन्धी विवरण समावेश गरिएको छ। साथै सुधारका उपायहरू पनि उल्लेख गरिएका छन्।
कृषि प्राविधिकहरूका अनुसार, माटोको गुणस्तर जोगाउन प्राङ्गारिक मलको प्रयोग बढाउनु आवश्यक छ। तर रासायनिक मल र विषादीको अत्यधिक प्रयोगका कारण माटो र वातावरण दुवै प्रभावित भइरहेका छन्। त्यसैले किसान स्वयं सचेत हुनुपर्नेमा जोड दिइएको छ।
दिगो माटो व्यवस्थापनलाई प्रवर्द्धन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी नियमावली २०८१’ लागू गरिसकेको छ। तीनै तहका सरकारले प्राङ्गारिक खेती प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताइएको छ।
टीकापुर नगरपालिकाकी कृषि प्राविधिक रविना चौधरीका अनुसार, कृषि शाखामार्फत माटोको गुणस्तरअनुसार खेती गर्न प्रोत्साहन दिइँदै आएको छ। साथै हरियो मल उत्पादन र ढैँचा खेतीबारे किसानलाई जानकारी गराइँदै आएको उहाँले बताउनुभयो।
उहाँका अनुसार, माटो स्वस्थ रहेमा मात्र वातावरण र कृषि उत्पादन दिगो हुने भएकाले यसको संरक्षणमा किसानको भूमिका अत्यन्त महत्वपूर्ण छ।


















Discussion about this post