सार्थक व्युरो ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले जननेता मदनकुमार भण्डारी ले अघि सारेको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक मूल्य आजको राजनीतिक परिवेशमा पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभएको छ।
मदन–आश्रित स्मृति दिवसको अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सबै पक्ष जिम्मेवार ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
पूर्वराष्ट्रपति भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनका प्रभावशाली वैचारिक नेता तथा ‘जनताको बहुदलीय जनवाद (जबज)’ का प्रतिपादक मदन भण्डारी र संगठक जीवराज आश्रित प्रति ३३औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरूको योगदानले कम्युनिष्ट आन्दोलनलाई जनस्तरसम्म स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ।
उहाँका अनुसार मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ ले लोकतान्त्रिक प्रक्रियामार्फत सामाजिक न्याय, आर्थिक समृद्धि र राष्ट्रिय रूपान्तरणको दिशामा मार्गनिर्देशन गरेको थियो। साथै उक्त विचारले नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई जनविश्वास प्राप्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक योगदान पुर्याएको उहाँको भनाइ छ।
पूर्वराष्ट्रपति भण्डारीले वर्तमान राजनीतिक परिस्थिति, अवसर र चुनौतीलाई गम्भीर रूपमा मूल्यांकन गर्दै अझ जिम्मेवार, संवेदनशील र जनमुखी ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। चुनौतीको सामना गर्न पार्टीभित्र सुदृढ एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य रहेको उहाँले बताउनुभयो।
उहाँले जनताको अपेक्षा र सुधारको चाहनालाई सम्बोधन गर्दै पार्टी र नागरिकबीचको सम्बन्धलाई थप विश्वासिलो र बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ। सिद्धान्त र व्यवहारबीच सन्तुलन कायम राख्दै जनविश्वास जित्ने प्रयास निरन्तर हुनुपर्ने उहाँको धारणा रहेको छ।


















Discussion about this post