धनगढीको कोल्डस्टोर परियोजना सात वर्ष बित्दा पनि अधुरै

सार्थक व्युरो । कैलालीको धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा निर्माणाधीन चिस्यान केन्द्र (कोल्डस्टोर) परियोजना सुरु भएको साढे सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। दुई हजार मेट्रिकटन क्षमता रहेको उक्त कोल्डस्टोर सञ्चालनमा आउँदा कैलाली र कञ्चनपुरका किसानलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको भए पनि ढिलासुस्तीका कारण किसान अझै भण्डारण समस्याबाट मुक्त हुन सकेका छैनन्।
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले रविना कन्स्ट्रक्सनसँग २०७५ मंसिर १८ गते निर्माण सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७७ मंसिर १७ भित्र काम सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म निर्माण कार्य पूरा हुन सकेको छैन। करिब ११ करोड ९६ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनाको म्याद सातपटकसम्म थप भइसकेको छ।
अन्तिमपटक थप गरिएको अवधि पनि गत मंसिरमै समाप्त भइसकेको कार्यालयले जनाएको छ। हालसम्म परियोजनाको भौतिक प्रगति करिब ८८ प्रतिशत पुगेको बताइएको छ। पटक–पटक समय थपिए पनि काम नसकिएपछि कार्यालयले निर्माण कम्पनीमाथि हर्जाना लगाउन थालेको छ भने फागुन महिनामा पेस्की रकम समेत जफत गरिएको जनाएको छ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीका अनुसार भवन निर्माणको मुख्य काम सम्पन्न भइसकेको छ। चिस्यान प्रणालीका मेसिन तथा र्याकहरू साइटमा ल्याइसकिए पनि जडानको काम बाँकी रहेको उनले बताए। साथै, केही संरचनामा मर्मत, विद्युत् जडान तथा ट्रान्सफर्मर जडानको काम पनि अझै पूरा हुन बाँकी छ।
उनका अनुसार निर्माण कम्पनीको ढिलासुस्तीका कारण परियोजना लामो समयदेखि अधुरो बनेको हो। कम्पनीले भारतबाट उपकरण ल्याउन ढिलो भएको कारण देखाए पनि वास्तविक रूपमा काममा आवश्यक तीव्रता नदेखाएको कार्यालयको भनाइ छ।
इन्जिनियर कलौनीले निर्माण कम्पनीको बैंक ग्यारेन्टी तान्ने प्रक्रिया समेत अघि बढाइएको जानकारी दिए। सम्झौताअनुसार दैनिक ०.०५ प्रतिशतका दरले १२० दिनसम्म हर्जाना लगाउन सकिने व्यवस्था रहेको भन्दै उनले आगामी असारभित्र काम सम्पन्न गर्न कम्पनीलाई दबाब दिइएको बताए। तोकिएको समयभित्र पनि काम नसकिए ठेक्का रद्द गरी कम्पनीलाई कालोसूचीमा राख्ने तयारी रहेको कार्यालयले जनाएको छ।
हालसम्म परियोजनाका लागि आठ करोड २९ लाख रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको छ।
धनगढी तथा आसपासका क्षेत्रमा कोल्डस्टोर अभावका कारण किसानले उत्पादन गरेको आलु, प्याज, तरकारी तथा फलफूल लामो समय सुरक्षित राख्न सकिरहेका छैनन्। धनगढी–१८ का व्यावसायिक किसान प्रेम खड्काले सिजनमा उचित मूल्य नपाउने र बेसिजनसम्म उत्पादन जोगाएर राख्न नसक्ने समस्या रहेको बताए।
स्थानीय जनप्रतिनिधिहरूले पनि परियोजना छिटो सम्पन्न गर्न माग गरेका छन्। वडा अध्यक्ष भुवन रिजालले अधिकांश संरचना तयार भइसकेकाले अब बाँकी काम तत्काल पूरा गरेर सञ्चालनमा ल्याउनुपर्ने बताए।
यस्तै, कैलाली–५ बाट निर्वाचित सांसद डा. आनन्दबहादुर चन्दले निर्माण कम्पनीले अझै पनि काममा गम्भीरता नदेखाए ठेक्का तोड्नु बाहेक अर्को विकल्प नरहेको धारणा व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित